२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनको पोखरा बैठक “हात्ती आयो हात्ती आयो फुस्सा”

1207 Shares
Spread the love

पोखरा । फोनबाट गर्न सकिने मिटिंगलाई अनावश्यक खर्च गरी आइसीसी सदस्यहरुलाई पोखरा लगेर गरिएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको खर्चिलो बैठक “हात्ती आयो हात्ती आयो फुस्सा” भएको छ।

काम गर्ने भन्दा पद बांड्ने कुरामा बढी केन्द्रित सो बैठक कुनै महत्वपूर्ण निर्णय गर्न नसकी लज्जास्पदरुपमा टुंगिएको एक सहभागीले बताए।

बैठकमा नयां नेतृत्वले एकलौटी रुपमा सल्लाहकार लगायत अरु सदस्यहरुको मनोनयन गरेको भनी चर्को आलोचना भएको थियो।

अध्यक्ष पन्तले काठमाडौँमा नमुना शौचालय बनाउन भनि अघि सारेको परियोजनाका लागि जम्मा ४० लाख रुपियाँ प्रतिवद्धता व्यक्त भएको थियो। विना कुनै गृहकार्य पन्तले त्यस्तो घोषणा गरेको भनी त्यसको आलोचना पनि भएको थियो ।

पदाधिकारी र सहभागीबीच भनाभन पनि भएको ७१ औं बैठकमा उपस्थिति न्यून थियो भने कोरम पनि पुगेको थिएन ।

गत अक्टोबर महिनामा काठमाडौँमा सम्पन्न नवौं विश्व सम्मेलन पछि पहिलो पटक बसेको संघको फेस टू फेस बैठकले संघका काम कारवाहीलाई वैधता दिलाउन केहि ठोस निर्णय लिने अपेक्षा गरिएको थियो। तर कमजोर नेतृत्व र पूर्वाग्रहका कारण आपसी किचलोमै बैठक सकिएको एक सहभागीले बताए।

नवौं विश्व सम्मेलनले आर्थिक र सांगठनिक प्रतिवेदन पारित नगरेकाले विशेष अधिवेशन बोलाएर ती प्रतिवेदनहरुमाथि छलफल गराउन निवर्तमान उपाध्यक्ष कुल आचार्य, निवर्तमान सचिव जानकी गुरुङ तथा एनआरएन युएसएका पूर्व अध्यक्ष डा केशव पौडेलले माग गरेका थिए । निर्वाचन सकिएको १ महिना भित्र विशेष अधिवेशनको मिति तोक्नु पर्नेमा पोखरा बैठकले मिति नै तोक्न सकेन, बरु यसबारे निर्णय गर्ने जिम्मा आइइएसलाई दिएको बताइएको छ । उल्टै संघका वर्तमान अध्यक्ष कुमार पन्तले वक्तव्य निकाल्ने काम हास्यास्पद भएको भन्दै आफ्नै पूर्व सहकर्मीहरुको आलोचना गरेका थिए।

यसैबीच आफ्नो फेसबुक पोस्टमा संघका महासचिव डा. हेमराज शर्माले सन् २०२१ अक्टोबरमा संघको निर्वाचन मात्र हुने तर विश्व सम्मेलन नहुने जनाएका छन् । विश्व सम्मेलन निर्वाचन नभएको वर्ष गरिने र भृकुटी मण्डपमा पाल टाँगेर, पाउ रोटि र समोसा ख्वाएर निर्वाचन गर्न सकिने दावी पनि उनले गरेका छन् ।

प्रतिक्रिया