२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

जिताउँन सहयोग गरेको खुसीमा एनआरएन यूकेद्वारा निर्वाचन अायुक्तहरु सम्मानित

2473 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ युकेको निर्वाचन सम्पन्न भएको ५ महिना पछि अनौठो कार्यक्रममा मन्चन भएको छ ।

गैरआवासीय नेपाली संघ युकेको निर्वतमान कार्यसमितिले ४ करोड रुपैयाँको हरहिसाव नबुझाएको समाचार बाहिर आए पछि एकाएक केहि महिनाअघि सम्पन्न निर्वाचनका आयुक्तहरुलाई सम्मान गरेको छ ।

निवर्तमान र वर्तमान कार्यसमितिका तर्फबाट संयुक्त रुपमा शुक्रबार सांझ फार्नबरोको गोर्खा प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मानको नाटक मन्चन गरिएको हो । करोडौं रुपैयाँ खर्चिएको निर्वाचनको आर्थिक हिसाव सार्वजनिक नहुदैं आयुक्तहरुलाई सम्मान गर्दै उनीहरुलाई उन्मुक्ति दिइएको छ । सो सम्मान कार्यक्रम भने गोप्य राखिएको थियो । वेलायतस्थित अधिकांस पत्रकारहरु बेखबर थिए ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र निवर्तमान कार्यसमिति अध्यक्ष योगकुमार फगामीले सम्मानपत्र र मायाको चिनोसहित आयुक्तहरुलाई सम्मान गरेका थिए । १३ जना निर्वाचन आयुक्त रहेको निर्वाचन समितिमा ३ जना मात्र सम्मान कार्यक्रममा सहभागी थिए ।

त्यसअवसरमा एनआरएनए यूकेको गत सेप्टेम्बरमा सम्पन्न निर्वाचनका प्रमुख निर्वाचन आयुक्त मेजर डमर घलेले थुप्रै चुनौति र जोखिमहरुकाबीच पनि निर्वाचन समितिले निश्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न गर्न सफल भएको स्मरण गरे । एनआरएन यूकेका पूर्व अध्यक्ष समेत रहेका घलेले भने, डेढ दशकको इतिहासमा यति धेरै चुनौतिपुर्ण निर्वाचन यसअघि कहिल्यै भएको थिएन । तर पनि म र मेरो टिमले दिनरात, भोक निद्रा नभनी हप्तौंसम्म खटिएर पनि आफ्नो जिम्मेवारी पूरा गरेका छौं भन्ने विश्वास छ ।

निर्वाचनका क्रममा सिर्जना भएका थुप्रै विवाद र असहमतिले काम गर्न असहज बनाए पनि निर्वाचन समिति हतोत्साही नबनेको उनले सम्झिए ।

निर्वाचन समितिका उपप्रमुख एवम प्रवक्ता शिवजी श्रेष्ठले कुनै बदमासी र पूर्वाग्रहविना निर्वाचन सम्पन्न गर्न सक्दो प्रयास गरिएको बताए ।

निर्वाचन समितले सबैतिरबाट गाली खायो । एक पक्षको मात्रै गाली आएको भए पूर्वाग्रही भयौं कि भन्ने आशंका हुन सक्थ्यो । सबैले गाली गरेको सुन्दा त हामीले कसैको पनि पक्ष नलिइ काम गरेका रहेछौं भनेर खुशी नै लागेको छ, उनले भने ।

वर्तमान कार्यसमितिको सफलता सिंगो एनआरएनए यूकेको भविष्यसंग जोडिएको भन्दै अब निर्वाचनलाई बिर्सिएर सबैले सहयोग गर्नुको विकल्प नरहेको श्रेष्ठको भनाइ थियो ।

अर्का निर्वाचन आयुक्त मेजर कृष्ण गुरुङले निर्वाचनको प्रक्रियामा हारजीत स्वभाविक हुने भएकाले चुनावी वैमनस्यता हटाएर संस्थाको हितका लागि एकठाउँमा आउन सबैलाई आव्हान गरे ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले गत निर्वाचनमा निर्वाचन समितिले निभाएको भुमिकाको आफुहरुले उच्च मुल्यांकन गरेको बताइन् । संवेदनशिल अवस्थामा पनि संस्थालाई एक बनाइराख्न र सहि दिशा दिन निर्वाचन समितिले जसरी काम गर्यो, त्यो निकै प्रशंसनीय छ । तपाईंहरु सबै बधाईका पात्र हुनुहुन्छ, अध्यक्ष गुरुङले भनिन् ।

निवर्तमान अध्यक्ष योगकुमार फगामीले निर्वाचनको तयारीदेखि सम्पन्न गर्नसम्ममा निकै ठूलो समय र शक्ति लगानी भएको स्मरण गरे । निर्वाचन समितिलाई आफ्नो कार्यसमितिले दिएको कठिन जिम्मेवारी पनि कुशलातापूर्वक पूरा गरेको भन्दै उनले धन्यवाद दिए । उनले संघको हरहिसावको विवरणका बारेमा भने मुख खोलेनन् ।

एनआरएन यूकेका पूर्व अध्यक्ष सुर्य गुरुङले गत निर्वाचनको क्रममा डुब्नै लागेको संस्थालाई निर्वाचन समितिले सफलतापूर्वक किनारा लगाएको भन्दै प्रशंसा गरे । वर्तमान कार्यसमितिमाथि बेलायतबासी सम्पुर्ण नेपालीहरुले आशापूर्वक नजर राखिरहेको छ, गुरुङले थपे, सबैको अपेक्षालाई बुझेर तपाईंहरु अहिलेदखि नै परिणाममुखी कामहरु सुरु गर्नुहोस, ढिलाई गर्दै नगर्नुहोस् ।

कार्यक्रमका सञ्चालक एनआरएन यूके महासचिव फडिन्द्र भट्टराईले वर्तमान कार्यसमिति उच्च मनोबल र उत्साहका साथ काम गर्न तत्पर रहेको बताउँदै आफुहरुलाई हौसला र भरोसा आवश्यक रहेको बताए ।

कार्यक्रममा एनआरएन अभियन्ता थर्क सेन, आइसिसी सदस्य सुरोज मास्के, एनआरएन यूके उपाध्यक्ष सुनिलबाबु खड्का, सचिवद्धय जीत रानाभाट र रञ्जिता मल्ल, प्रवक्ता रामकुमार गुरुङ, सदस्य प्रकाश कँडेल लगायतका कार्यसमितिका पदाधिकारी सहभागी थिए ।

प्रतिक्रिया