लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) १७ करोड रुपैयाँ घाटामा गएको छ । एनआरएनए स्रोतका अनुसार लाप्राकको नमूना वस्ती निर्माण, एनआरएनएन भवन, कार्यालय संचालन र शंखमुल पार्क निर्माणमा भएको चरम आर्थिक अनियमिताले संघ १७ करोड रुपैयाँ घाटामा गएको हो । भूकम्प पीडितका लागि गोरखाको लाप्राकमा निर्माणाधीन ५ सय ७० घर सम्पन्न गर्नका लागि संघलाई ८ करोड रुपैयाँ अझै अपुग रहेको बताइएको छ । शुरुमा ३७ करोडमा सम्पन्न हुने भनिए पनि बिभिन्न चलखेलका कारण ५२ करोड रुपैयाँ पुगेको हो ।
एनआरएनए परियोजना पूर्व निर्देशक सुवास अधिकारीका अनुसार लाप्राक परियोजनाका लागि सुरुमा ५२ करोड रुपैयाँ आवश्यक पर्ने थियो । विश्वभर छरिएका नेपाली समुदायबाट ३८ करोड रुपैयाँ मात्र संकलन भएको भयो ।
पूर्वअध्यक्ष शेष घलेले सुरु गर्नुभएको लाप्राक परियोजनाको सञ्चालन लागत ५२ करोड रुपैयाँ भएको अधिकारीको दावी छ।
निवर्तमान अध्यक्ष भवन भट्टले नेतृत्व लिएपछि खर्च कम गर्ने उद्देश्यले लागत ४६ करोड रुपैयाँमा झारिएको पूर्व निर्देशक अधिकारीले बताए । अधिकारीले तत्कालीन ठेक्कदारको कार्यशैलीप्रति शंका लागे पछि १७ वटा सानाठूला ठेक्का (आइटम) मा संघले पुनरावलोकन (रिभ्यु) गरेको थियो ।
यस्तै संघको काठमाडौंस्थित मुख्य कार्यालयको निर्माणको लागि ६ करोड रुपैयाँ अपुग रहेको छ । संघको भवनको निर्माणका लागि संघको सक्रियतमा विश्वभरबाट १८ करोड रुपैयाँ संकलन भएको थियो । त्यसमध्ये १३ करोड रुपैयाँ जग्गा खरिदमा खर्च भएको थियो । भवनको निर्माणका लागि ११ करोड रुपैयाँ ठेकदारले बुझिसकेका छन् । संघको भवन निर्माणमा जम्मा २४ करोड रुपैयाँ खर्च भइसकेको छ । भवन निर्माणका लागि थप ६ करोड रुपैयाँ अपुग भएको छ ।
यस्तै बाग्मति किनारामा निर्माण गरिएको शंखमुल पार्कमा समेत १ करोड ५० लाख रुपैयाँ संघले बढी खर्च गरेको छ । निवर्तमान उपाध्यक्ष कुल आचार्यको संयोजकत्वमा निर्माण कार्य सुरु गरिएको सो पार्कको सुरुको लागत १ करोड २५ लाख भनिएको थियो । तर, निर्माण सम्पन्न हुने बेलासम्म सो लागत बढेर २ करोड ७५ लाख रुपैयाँ पुगेको थियो ।
एनआरएनए यूकेमा चार करोड रुपैयाँको हिसाव गोलमाल
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा झन्डै चार करोड रुपैयाँको हिसाबकिताब गोलमाल भएको छ । पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई हिसाब बुझाउन आनाकानी गरेपछि संघको नाममा संकलित करिब २ लाख ९३ हजार पाउन्ड (झन्डै ४ करोड रुपैयाँ) गोलमाल भएको आशंका गरिएको छ । नयाँ कार्यसमितिले नेतृत्व सम्हालेको ५ महिना बितिसक्दा पनि पुरानो कार्यसमितिले अहिलेसम्म हरहिसाब बुझाएको छैन ।
संघका निवर्तमान अध्यक्ष योगकुमार फगामी कार्यसमितिले हालसम्म बरबुजारत नगर्दा सो रकम कहाँ खर्च भयो भन्ने विषयमा वर्तमान कार्यसमिति बेखवर बनेको हो । स्रोतका अनुसार तत्कालीन अध्यक्ष फगामी र महासचिव राजकुमार त्रिपाठीले आफ्नो आर्थिक तथा भौतिक सम्पतिको विवरण संघमा अझैसम्म बुझाएका छैन् ।
संघको डिसेम्बर ८ तारिख सम्पन्न बैठकमा उपस्थित भएका निवर्तमान अध्यक्ष फगामीले आर्थिक तथा भौतिक विवरण बुझाउने मौखिम जानकारी दिएर उम्कने प्रयास गरेका थिए ।
संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार नयाँ कार्यसमितिले दुईवटा माइनोट बुकबाहेक अरु केही बुझेको छैन् । ‘पछिल्लो बैठकमा निवर्तमान अध्यक्षजी र एकजना सचिव आउनु भयो, हाम्रो हातमा दुईवटा माइनोट बुक राख्दिनुभयो, पुरानो कार्यसमितिबाट हामीले पाएकोे त्यत्ति हो’ महासचिव भट्टराईले भने ।
पूर्वकार्यसमितिका सदस्यको विवरण, अनलाइन लगिन डिटेललगायत संस्थाका जिन्सी समानसमेत हस्तान्तरण भएको छैन् । बरबुजारथका सम्वन्धमा जानकारी लिन संघका निवर्तमान महासचिव राजकुमार त्रिपाठीसँग सम्पर्क गर्दा आर्थिक कारोबार पहिलेबाट सबै अध्यक्ष ज्युहरुले गरेको आर्थिक मामलामा उनको कुनैपनि संलानाता नरहेको जिकिर गरे ।
भट्टराईका अनुसार बरबुजारत भएको भन्ने मान्ने तर आर्थिक तथा जिन्सीको हिसाव कितावपछि बुझाउने भन्दै फगामीले बरबुजारत गरेको भन्दै अध्यक्ष पुनम गुरुङसँग फोटो खिचाएका थिए ।
फगामीको कार्यसमितिले पछिल्लो कार्यसमितिबाट बुझेको ३९ हजार, नेपाल हाउसको ४३ हजार, सदस्यता शुल्कबाट जम्मा भएको १ लाख ३६ हजार, उम्मेदवारी शुल्कवापत उठेको ७३ हजार पाउण्ड गरी जम्मा २ लाख ९१ हजार पाउन्ड (४ करोड भन्दा बढी रुपैयाँ) को विलभरपाई तथा हिसावकिताब बुझाएको छैन् । सो रकम फगामीको २० महिने कार्यकालमा खर्च गरिएको हो ।
स्रोतका अनुसार गत सेप्टेम्वर महिनामा सम्पन्न संघको निर्वाचनमा अत्याधिक मात्रामा संस्थाको पैसा खर्च गरिएको छ । स्रोतले भन्यो सदस्यता शुल्कवापत उठेको करिब १ लाख पाउन्ड बैंक दाखिला नगरी सिधै नगद बाढेर सकिएको थियो । पुरानो कार्यसमितिले नेपाल हाउसको ४३ जहार पाउन्डबाहेक सम्पूर्ण रकम खर्चिएर बाँकी २६ हजार पाउन्ड घाटा देखाएर विवरण बुझाउने प्रयास गरेको थियो ।
एनआरएन युकेका कोषाध्यक्ष तेजेन्द्र रोकाका अनुसार आगामी आइतबार हुने संघको कार्यसमिति बैठकमा निवर्तमान कार्यसमितिले सम्पूर्ण विवरण लिएर आउने बचन दिएको छ । ‘उहाँहरुले सबै दिन्छौ भन्नु भएको छ, के कति आउने हो हेर्ने बाँकी छ, रोकाले नेपालब्रिटेन डट कमसंग भने, दुईवटा बैठक सम्पन्न भए, उहाँहरुले प्रष्ट हिसाव देखाउन सक्नु भएन । पछिल्लो बैठकमा २६ हजार घाटासहितको डामाडोल हिसाब लिएर आउनु भएको थियो । हामीले बुझेका छैनौं ।’
रोकाका अनुसार पुरानो कार्यसमितिबाट २ लाख ९३ हजार पाउण्डको बिल भरपाइ बुझेपछि एक स्वतन्त्र लेखा परीक्षकमार्फत् सम्पूर्ण विवरण सार्वजनिक गर्ने एनआरएनए युकेको तयारी रहेको बुझिएको छ ।
स्मरण रहोस बेलायतको अघिल्लो कार्यसमितिमा बर्तमान अध्यक्ष पूनम गुरुंग उपाध्यक्ष , अध्यक्षमा योग फगामी लगायतका सदस्य आफै रहेका थिए ।
एनआरएन अस्ट्रेलियाको खातामा ३ करोड
सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले आफ्ना दुई महत्वपूर्ण रिपोर्ट सार्वजनिक गरेको छ । एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल र जनवरी पहिलो हप्ता, भिजिट नेपाल २०२० लाई सहयोग गर्न बनेको अभियान टिमका संयोजक खेम शर्माको रिपोर्ट सार्वजनिक गरिएको हो ।
कोषाध्यक्ष पोखरेलको त्रैमासिक रिपोर्टअनुसार अहिले एनआरएन अस्ट्रेलियाको खातामा तीन लाख २७ हजार डलर रकम छ, जुन झण्डै तीन करोड नेपाली रुपैयाँ हाराहारीमा हो ।
पछिल्लो तीन महिनामा झन्डै ४४ हजार आय र ९४ हजार खर्च भएको देखिन्छ, जसअनुसार झन्डै ५० हजार डलर पछिल्लो तीन महिनामा खर्च भएको छ । रिपोर्टमा डढेलो नियन्त्रणमा सहयोग गर्न एनआरएन अस्ट्रेलियाले गरेको आह्वानमा ३६९ जनाले सहयोग गरेका छन् । एनआरएन अस्ट्रेलियाले २० हजार रकम डढेलो नियन्त्रणमा खटेका अग्नि नियन्त्रकहरुलाई सहयोग गरेको थियो ।
यसैगरी गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले भिजिट नेपाल २०२० लाई सहयोग गर्न नेपाल पठाएको अभियान टिमका संयोजक शर्माको रिपोर्टले यदि यो वर्षभरि एनआरएन अस्ट्रेलियाले बनाएजस्तै टिमहरु बनाएर नेपाल पठाउने हो विश्वभर छरिएका नेपालीहरुबाट मात्रै ८० अर्ब बराबरको कारोबार हुने बताइएको छ ।
रिपोर्टमा जम्मा १० बुँदामा भ्रमणको निष्कर्ष समेटिएको छ । सबैभन्दा रोचक निष्कर्ष त यो छ कि यदि यस्तै अभियान यो वर्षभरि मात्रै गैरआवासीय नेपाली संघ सन्जाल भएको ८२ देशमा फैलियो भने कम्तिमा ८२ वटा अभियान टिम बन्ने र, यस्तै नमूना ३ काम मात्रै गर्दा नेपालमा २४६ वटा नमूना काम हुने बताइएको छ ।
संसारभरका झन्डै ८० देशमा प्रत्येकमा ५० नेपाली संस्था भएको अनुपातमा जम्मा ४ हजार १०० नेपाली संस्था हुनसक्ने अनुमान गर्दै एक वर्षको योजना बनाएर प्रत्येक संघ संस्थाले नेपाली र आफ्ना विदेशी मित्रहरु गरी १०० जना नेपाल जाने तथा यस्तै नमूना कामहरु गर्ने हो भने ४ लाखभन्दा बढी पर्यटक एक वर्षभित्रै भित्रिने उक्त रिपोर्टले अनुमान गरेको छ ।
हेर्नुहोस् कोषाध्यक्ष पोखरेलको त्रैमासिक रिपोर्ट
विश्वभरिका नेपाली सामाजिक संस्थाहरुले मात्रै यही मोडेलका सामाजिक काम गर्दा नेपालमा १२ हजार तीन सय वटा सामाजिक काम हुने अनुमान गरिएको छ । विदेशमा भएका दूतावास तथा वाणिज्य प्रतिनिधिहरुका कार्यालयहरु मिलेर यहीस्तरमा भ्रमण दलहरु निर्माण गरेर परिचालन गर्न सक्ने हो भने एक वर्षमा मात्रै चार अर्ब हाराहारीको समाजसेवाका काम हुने र ८० अर्ब हाराहारीको आर्थिक कारोबार हुने यो टिमको अनुमान छ ।
संयोजक खेम शर्माले यस्ता अभियानहरुले मात्रै नेपालमा झन्डै ३६ हजार बढीलाई एक वर्षमा रोजगारी दिने बताए । साथै सबै संघ संस्थाहरुलाई यस्ता अभियानहरु सन्चालन गर्न अनुरोध गर्दै उनले आवश्यक भएमा आफ्ना अनुभवका आधारमा संसारभरका अन्य अभियान टिमलाईसहयोग गर्न आफू तयार रहेको बताए ।
नेपालमा चलिरहेको भिजिट नेपाल २०२० मा सहभागी हुन यही जनवरी पहिलो दिन नेपाल पुगेको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको टिमले आफ्नो पाँचदिने नेपाल भ्रमणको प्रतिवेदन एनआरएन अस्ट्रेलियालाई दुई दिनअघि बुझाएको थियो ।
नेपाल सरकारका राष्ट्रिय अभियानहरुलाई प्रवासबाट सक्रिय सहयोग गर्नुपर्छ भन्ने लक्ष लिएर नेपाल गएको यो टिमले आफ्नो दश पृष्ठको प्रतिवेदनमा नेपालमा घुमेका स्थान, भेटेका व्यक्तिहरु तथा गरेका केही कामहरुको ब्याख्या गरिएको छ ।
उक्त प्रतिवेदनमा सय जनाको संख्यात्मक लक्ष्य राखे पनि नेपाली तथा गैरनेपाली गरी जम्मा ४० जना जनवरी १ मा काठमाडौंमा आयोजित भिजिट नेपालको मुख्य कार्यक्रममा सहभागी भएको प्रतिवेदनमा उल्लेख छ । ‘सय जनाको संख्यात्मक लक्ष नपुगेपनि यो टिमले केही गुणात्मक सामाजिक काम भने गरेको छ,’ प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सचित्र नेपालमा गरेका सामाजिक कामको वर्णन गरिएको छ ।
‘अस्ट्रेलिया-नेपाल गौरवमय यात्रा अभियान-२०२०’ नामाकरण गरिएको उक्त भ्रमण टिमले जनवरी १ को बिहान काठमाडौं ओर्लिएपछि आफ्नो औपचारिक काम थालेको थियो । पहिलो काम उक्त टिमले नेपाल पत्रकार महासंघसंग लेखनवृत्ति दिने सहमतिमा हस्ताक्षर गर्यो । उक्त सहमतिअनुसार गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको टिमले ३ लाख पचास हजार रकम नेपाल पत्रकार महासंघलाई बुझाएको छ ।
नेपालमा पर्यटन सम्बन्धी रिपोर्टिङ गर्ने सात प्रदेशका सात जना पत्रकारलाई जनही पचास हजार रकमको लेखनवृत्ति आगामी बैशाख १ मा प्रदान गर्ने उक्त सहमतिमा उल्लेख छ । लेखनवृत्ति रकम हस्तान्तरण कार्यक्रम सातै प्रदेशमा आयोजना गरिने नेपाल पत्रकार महासंघले जनाएको छ । ‘यो रकमले नेपालका सात जना पर्यटन बिटमा समाचार लेख्ने पत्रकारलाई प्रोत्साहन हुने छ,’ लेखनवृत्ति सहमति कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए । लेखनवृत्ति सम्बन्धी सहमतिमा अभियानका संयोजक खेम शर्मा र नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले हस्ताक्षर गरेका छन् ।
जनवरी १ मा भिजिट नेपाल २०२० को मूल समारोहमा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गर्दै यो टिम दशरथ रंगशालामा सहभागी भएको थियो । नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई आफू र आफ्ना साथीहरुलाई नेपाल भ्रमण गर्न निम्तो गरेको छ ।
त्यस्तै प्रतिवेदनका अनुसार उक्त टिमले चितवनको भरतपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तरास्टि्रय क्रिकेट रंगशालाको निरीक्षण गरेर उक्त रंगशाला निर्माणका लागि २ लाख पचास हजार रकम सहयोग गरेको छ ।
पोखरा र चितवनको भ्रमण सकेर धुलिखेल पुगेको टिमले त्यहाँ अस्ट्रेलियाबाट नेपाल आई जीवन गुमाउने पर्यटकहरुको स्मृतिमा निर्माण हुने पार्कको शिलान्यास गर्यो । धुलिखेल नगरपालिका र गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको संयुक्त लगानीमा आगामी बैशाख १ मा उदघाटन हुने उक्त पार्क निर्माण सम्बन्धी सहमतिमा धुलिखेल नगरपालिकाका मयेर अशोक ब्यान्जु र एनआरएन अस्ट्रेलियाका युवा संयोजक इर्साद अहमदबीच हस्ताक्षर भएको छ ।
यो टिमले आफ्नो भ्रमणका क्रममा नेपालका केही विशिष्ट सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुसँग पनि भेट गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार यो टिमले नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, गण्डकी प्रदेश प्रमुख अमिक शेरचन तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व मन्त्रीहरु जनार्दन शर्मा, डा. मिनेन्द्र रिजाल, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, महानायक राजेश हमाल, पर्यटन व्यवसायी कर्ण शाक्य, होटेल व्यवसायी विनायक शाहलगायतलाई भेटेर नेपालको पर्यटन उद्योगमा प्रवासी नेपालीहरुको योगदानबारे जानकारी गराएको थियो ।