लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक आउँदो शनिबार र आइतबार पोखरामा बस्दैछ । जनवरी १८ र १९ मा बस्ने बैठकले ९ औं विश्व सम्मेलनमा निर्वाचित नयाँ कार्यसमितिले यसअघि गरेको निर्णयलाई कार्यान्वयन गर्ने महासचिव डा. हेमराज शर्माले बताए ।
देश संघीय संरचनामा गइरहेको अवस्थामा संघका गतिविधिलाई प्रदेशहरुसम्म पु-याउन पहिलो पटक संघको बैठक केन्द्रीय राजधानी काठमाडौं बाहिर आह्वान गरिएको महासचिव डा. शर्माको भनाइ छ । संघका आन्तरिक बैठक मात्रै नभई संघद्वारा आयोजना गरिने अधिकांश गतिविधिमा पनि नेपाल केन्द्रित हुने उनले बताए ।
छलफल ९ मुख्य एजेन्डाहरु यस्ता छन्–
१. ‘प्रदेशको विकासका लागि संघको भूमिका’ सम्बन्धमा गण्डकी प्रदेश सरकारसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्नका साथै गण्डकी प्रदेशमा गैरआवासीय नेपालीद्वारा सञ्चालित विभिन्न क्रियाकलाप र परियोजनाको स्थलगत भ्रमण गरिनेछ ।
२. संघले अघि सारेका मुख्य विषयहरु (१० अर्बको लगानी, भिजिट नेपाल २०२०, एनआरएनए फाउण्डेसन, विज्ञ सम्मेलन, नागरिकता र सम्पत्तीको अधिकार, वैदेशिक रोजगार राहत कोष लगायत) का सम्बन्धमा नेपाल सरकार र सरोकारवाला निकायहरुसँग छलफल र परामर्श गरिनेछ ।
३. हालसम्म संघको सम्मेलनहरु विभिन्न होटलहरुमा गरिँदै आइएकोमा दोश्रो विज्ञ सम्मेलन भने काठमाडौं विश्वविद्यालयमा आयोजना गर्नेबारे विश्वविद्यालयका उप–कुलपति लगायतका उच्च–पदाधिकारीसँग भेटघाट गर्ने सम्बन्धमा छलफल गरिनेछ । जसले सम्मेलनको प्रभावकारिता, आर्थिक मितव्ययिता र सहभागितामुलक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
४. दोश्रो विज्ञ सम्मेलनमा सहकार्य गर्न परराष्ट्र मन्त्रालय, त्रिभुवन विश्वविद्यालय,पोखरा विश्व विद्यालय,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका निकायसँग गरिने छलफल सम्बन्धमा बहस गरिनेछ ।
५. गैरआवासीय नेपालीहरुको सम्पत्ति लगायतका अधिकारसँग जोडिएको ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन’को संशोधन गर्न संघको तर्फबाट नेपाल सरकारलाई सुझाव पेश गरिनेछ ।
६. वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न तथा वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि गर्न विज्ञहरु, नेपाल सरकार र सरोकार पक्षसँग छलफल गरिनेछ ।
७. संघको १६ वर्षको इतिहासमा पहिलो पटक विस्तृत लेखापरिक्षण (डिडिए) गराइएको छ । एमआईएस सिष्टम लगायत सिष्टम अडिट रिपोर्ट पनि तयार हुँदैछ । डिडिए र सिष्टम अडिट प्रतिवेदन संघको संस्थागत विकास गर्न र ‘‘स्मार्ट एनआरएनए’ बनाउन कोशेढुङ्गा साबित हुने विश्वास हाम्रो छ । तसर्थ यस बैठकमा संघको आर्थिक स्थायित्व र पारदर्शीताबार घनिभूत छलफल गरिनेछ ।
८. गत निर्वाचनमा पूर्व अध्यक्षहरुको प्रत्यक्ष सुपरिवेक्षण र सहभागिताका माझ पनि निर्वाचन व्यवस्थित बनाउन ठूलो कसरत गर्नुपरेको थियो । सोही अनुभवलाई मनन गर्दै नयाँ कार्यसमितिको पहिलो बैठकले निर्वाचनलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे अध्ययन गर्न एक समिति गठन गरी कार्य अगाडि बढाएको छ । सोही सम्बन्धमा समेत यो बैठकमा विशेष छलफल गरिनेछ । अर्कोतर्फ आर्थिक पारदर्शिता तथा निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यले संघको विशेष महाधिवेशन बोलाउने निर्णय समेत भइसकेको अवस्थामा विशेष महाधिवेशनको तयारीको सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
९. पोखरा बैठकमा संघका विभिन्न विभागका प्रमुख र समुतिका संयोजकहरुले यस कार्यकालको कार्ययोजनाहरु प्रस्तुत गर्नु हुनेछ । यसको आधारमा वार्षिक कार्यतालिका (क्यालेण्डर) तयार गरिनेछ । संघका समिति र कार्यदलहरुलाई पूर्णता दिईने छ ।