काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेशियाका अध्यक्ष हरि भट्टराईको चेक नै नक्कली भएको खुल्लासा भएको छ । एनआरएनए श्रमिक कल्याणकारी कोषमा सहयोग हस्तान्तरण गरेको चेक नै नक्कली भएको रहस्य खुलेको हो ।
गत भदौ ६ गते एनआरएनए मलेसियाको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका भट्टराईले चेकमार्फत् ५० हजार रिंगेटअर्थात् १४ लाख नेपाली रुपैँया श्रमिक कल्याणकारी कोषमा चेकमार्फत हस्तान्तरण गरेका थिए ।
भट्टराईले मलेसियमा रहेका मजदूरको पक्षमा काम गर्न कल्याणकारी कोषमा चेकमार्फत् दिएको रकम अहिलेसम्म कोषको खातामा जम्मा हुन सकेको छैन ।
अध्यक्ष भएको पाँच महिना बितिसक्दा पनि भट्टराईले दिएको चेकको रकम कोषमा जम्मा नभएपछि चेक नै नक्कली खुलेको हो ।

कल्याणकारी कोषका एक पदाधिकारीले भट्टराईको चेक नक्कली भएको दावी छ । ‘अध्यक्षज्यूले चेकमार्फत् कोषमा सहयोग गर्नुभयो,’ उनले भने, ‘कल्याणकारी कोषमा अहिलेसम्म जम्मा हुन सकेको छैन ।’
एनआरएनए मलेशियाका एक अधिकारीका अनुसार, सन् २०१९ डिसेम्बर २८ मा एनआरएनए कार्यसमितिको बैठकले कल्याणकारी कोषमा रकम जम्मा गर्न आदेश दिएको थियो । अध्यक्षले नै दिएको रकम जम्मा नभएपछि पदाधिकारी समेत रणभुल्लमा परेका छन् ।
यस विषयमा भट्टराईसँग पटक–पटक बुभ्mन खोज्दा सम्पर्क हुन सकेको छैन ।