नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बिहीबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत। तस्बिर: रासस
काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा भ्रम छर्ने चेष्टा नगर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई चेतावनी दिएका छन्।
प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिस्पर्धाको राजनीतिमा आउन पनि नेपाली काँग्रेसलाई आह्वानसमेत गरे। उनले भदौ १ गतेदेखि लागू हुने मुलुकी फौजदारी ऐनबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै सचेत रहन सबैलाई आग्रह गरे।
प्रधानमन्त्री ओलीले एक वर्ष अघि बनेको सो ऐनमा चिकित्सकहरुलाई जन्मकैदको सजाय दिने व्यवस्था गरिएको भन्दै अन्त्यन्तै भ्रमपूर्ण प्रचार गरिएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। बिहीबार काठमाडौंमा एक कार्यक्रमक बीच विभिन्न पार्टीका युवाहरुलाई पार्टीका प्रवेश गराउँदै उनले सरकार गतिका साथ अघि बढेको दावी गरे।
प्रधानमन्त्री ओलीले पार्टीका प्रवेश गरेका युवाहरुले सही छनौट गरेर पार्टी प्रवेश गरेको उल्लेख गर्दै उनीहरुको विश्वासलाई अझै सुदृढ बनाएर लैजाने प्रतिवद्धता पनि व्यक्त गरे। उनले पार्टीमा प्रवेश गरेका युवाहरुले मौरीसँग उडान भरेको भन्दै फूलको थुंगामा पुग्नेमा ढुक्क हुन पनि आग्रह गरे।
प्रधानमन्त्री ओलीले अन्य पार्टीहरुको उडानलाई झिंगासँग तुलना गर्दै फोहोरको डुंगुरमा फस्ने व्यंग गरे। प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि पार्टीमा प्रवेश गरेका युवाहरुलाई आग्रह गरे। उनले सरकारले तीव्रताका साथ विकास, निर्माणको कामलाई अघि बढाएको दावी गरे।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले विकास र समृद्धिको उडान भर्ने तयारी गरिरहेको दावी गरे। उनले पार्टीलाई फुटाउने र सरकारलाई कमजोर बनाउने षडयन्त्र भइरहेको दावी गर्दै त्यसलाई चिरेर अघि बढने दृढता व्यक्त गरे।
अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने एक मात्रै शक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहेको पार्टीमा प्रवेश गरेका युवाहरुले पनि पुष्टि गरेको दावी गर्दै राष्ट्र र जनताको हितमा सरकारलाई अझै मजबुतका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।
अध्यक्ष दाहालले पार्टीमा विभिन्न खालका चुनौती रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढने बताए। कार्यक्रममा काठमाडौं, ललितपुर र ओखलढुंगाका विभिन्न राजनीतिक दलका युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए।