२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सिड्नी प्रहरीले रोक्यो पर्यटन मन्त्री योगेश भट्टराईको र्‍याली

1176 Shares
Spread the love

काठमाडौं। भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका पर्यटन मन्त्री योगेश भट्टराईले नेतृत्व गरेको र्‍यालीलाई सिड्नीस्थित ओपेरा हाउसको सुरक्षाकर्मीले रोकेको छ।

अष्ट्रेलियामा डढेलो लागेर कम्तीमा २४ जनाको ज्यान गएको, ५० करोड भन्दा बढी जनावर मरेको, सयौं घर जलेर ऐतिहासिक संकटमा रहेको अवस्थामा भ्रमण वर्ष २०२० को नाममा असंवेदनशील भई प्रचारप्रसार गर्न पुगेका मन्त्री भट्टराईले नेतृत्व गरेको उक्त र्‍यालीलाई मंगलबार ओपेरा हाउसको सुरक्षाले रोकेको हो। र्‍यालीमा भट्टराईसंगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलरहरु दीपक खड्का र चन्द्र योन्जनसहितको टोली रहेको थियो।

यो कार्यक्रम प्रचारप्रसार र व्यवसायिक लाभका लागि भएको लगायतका कारण देखाउँदै प्रहरीले ओपेरा हाउससम्म जान रोकेको हो। यसलाई अधिकार सम्बन्धी कानुन भन्दा बाहिर रहेकाले र्‍यालीमा रोक लगाइएको सिडनी काउन्सिलले जनाएको छ।

र्‍यालीमा सहभागीको संख्यासमेत धेरै हुँदा यसले पैदल यात्रुलाई असर पर्ने कारणसमेत जनाइएको थियो। एनआरएनएक पूर्व कोषाध्यक्ष डिला खरेलले सुरक्षाले दिएको जानकारी मन्त्री भट्टराईको टिमलाई गराएको समेत बताएका छन्।

आयोजकको अव्यवस्थापनका कारण र्‍याली रोकिएको भन्दै र्‍यालीका सहभागीहरुले आयोजकप्रति आक्रोश पोखेको फ्रिलान्स पत्रकार प्रकाश हुमागाईले बताएका छन्। ओपेरा हाउससम्म जाने पूर्व निर्धारित कार्यक्रम भए पनि त्यहाँको सिड्नी काउन्सिलले स्वीकृति दिएको थिएन । अनि जवरजस्ती जान खोजिएपछि प्रहरीले रोकेको थियो ।

 

प्रतिक्रिया