२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पिडित राजन थापाको उपचारार्थ दोहा कतारमा रहेका प्रवासी नेपालीहरुद्धारा आर्थिक सहयोग

1218 Shares
Spread the love

काठमाडौं – दुवै हात खुट्टा आगोले जलेर पिडित भएका अर्घाखाँची मालारानी ५ कजेरी निवासी १४ बर्षिय राजन थापालाई प्रवासबाट पनि आर्थिक सहयोग भएको छ ।

करिव १ महिना अगाडी आगोले पोलेर काठमाडौंको किर्तीपुर अस्पतालमा उपचार गराईरहेका थापाको आर्थीक अवस्था कमजोर भएकोले उपचारार्थ दोहा कतारमा रहेका नेपालीहरुले व्यक्तिगत र संस्थाको तर्फबाट १ लाख २१ हजार ५ सय २४ रकम सहयोग गरेका हुन ।

अर्घाखाँची सेवा समाज दोहा कतारका कोषाध्यक्ष समेत रहेका नेत्र आचार्यको पहलमा बिष्णु केसी,नारायण खत्री, कमल केसी, नारायण महतसहितको टिमको सक्रियतामा दोहा कतारमा कार्यरत अर्घाखाँची लगाएतका विभिन्न जिल्लामा स्थाई ठेगाना भएका व्यक्तिहरुबाट ८९,२०१(उनानब्बे हजार दुई सय एक) र अर्घाखाँची सेवा समाज दोहा कतारको तर्फबाट ३२,३२३ (बत्तीस हजार तिन सय तेइस) गरी जम्मा १,२१,५२४ रकम संकलन भएको थियो । संकलित रकम पत्रकार बिष्णु आचार्य मार्फत पिडितको परिवारलाई हस्तान्तरण भएको अर्घाखाँची सेवा समाज दोहा कतारका कोषाध्यक्ष नेत्र आचार्यले जानकारी दिए ।

उनले प्रवास रहेर पनि गरीब विपन्न तथा निमुखाहरुलाई दुःख पर्दा साथ सहयोग गर्नु मानविय धर्म भएको उल्लेख गर्दै अर्घाखाँची सेवा समाज र व्यक्तिगत रुपमा सहयोग गर्ने सहयोग दाता प्रति धन्यावाद व्यक्त गरे ।

एउटा १४ बर्षीय बालकको उपचार हामी सबैको ससानो सहयोगले सम्भव छ भने किन नगर्ने त भन्ने ठानेरै विभिन्न सभा सम्मेलन पुगेरै सहयोग रकम संकलन गरेका हौं’ उनले भने ‘मन्दीरमा गएर धर्म कमाइन्छ भन्ने सोच बदलौ । बरु गरीब विपन्नलाई आफुसक्दो सहयोग गरौं त्यहीनै असली धर्म र पूण्यको काम हुन्छ ।

पिडित थापालाई उपचार गर्न समेत आर्थिक अभाव ले सताइरहेको छ ।अघिल्लो बर्ष बाबा(राकेश थापा)को खुट्टाको क्यान्सरका कारण एउटा खुट्टा गुमाउनु परेको थियो । ,

पिडितकी आमाले गहभरी आसु झार्दै भनिन् ‘अघिल्लो बर्ष श्रीमानको क्यान्सरका कारण खुट्टा काट्नु प¥यो । घरमा कमाएर खुवाउने, परिवारको पेट पाल्ने कोहि छैन ।भोलि कमाएर खुवाउला भन्ने छोरा अस्पतालमा छटपटाई रहेको छ ।पीडा माथि पीडा थपिएको छ । भगवानले पनि हामी गरिब माथिनै खेलवाड गरिरहेको छ । जसलाई एउटा पिडाको घाउ मेटिन पाएको छैन उसै माथि यस्तो बज्रपात परिरहेको छ ।’ उनले छोराको उपचारको लागी विभिन्न क्लव संस्था र व्यक्तिहरुले सहयोग गर्दै आएको उल्लेख गर्दै सबै सम्पूर्ण सहयोगी हातहरु प्रति धन्यवाद व्यक्त गरिन । उनले भनिन् सम्पूर्ण व्यक्तिहरुले हाम्रो दुःखमा मलम लगाउन जसरी सहयोग गर्नु भएको छ, त्यसमा सहयोगी हातहरुको गुन कहिले बिर्सने छैनौं । सबैको सहयोगले बाबुको उपचार हुने देखिएकोले खुसीका दिन आउलानकी भन्ने आशामा बसिरहेका छौं ।

पिडित थापाको स्वास्थ्य अवस्था बुझ्न केही दिन अघि पूर्व उपप्रधानमन्त्री एव्म अर्घाखाँची जिल्लाका प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझी र राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्वल अस्पताल पुगेका थिए । सांसदहरुले थापाको स्वास्थ्य अवस्था बुझ्दै उपचारको लागी कुनै कसर बाँकी नराखी उपचारमा सहयोग गर्न डाक्टरहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया