लण्डन । किरात राई यायोक्खा वेलायतको आयोजनामा वेलायतमा बसोबास गर्ने किरात राईहरुले शनिबार किरात हाउस गम्बल् लेनमा भेला भएर साकेला उधौली भब्यताको साथ मनाएका छन् ।
धामी (नाक्छुङ) द्वारा पानी पुजा, चुला (सुप्तुलुङ) पुजा सम्पन्न गरेपछि साकेला पुज्ने गर्दछ । वेलायतमा भएका चार जना धामी (नाक्छुङ) हरुलाई किरात राई यायोक्खा वेलायतको अध्यक्ष श्री कल्पना राईद्वारा रितपूर्वक धामी बन्न प्रस्ताव राखेका थिए । धामीहरुले प्रस्तावलाई स्विकार गरे पश्चात खोटाङ जिल्लाका पूर्व जि.वि.स. सभापति तथा सल्लाहकार रत्न राई र संरक्षक दिल वहादुर राईले फेटा लगाई धामीहरुलाई संस्कारगत शिर उभाएका थिए ।

धामीहरु किताव शेर राई र टाईटेक्स् फल्माछाद्वारा आफ्नै घरमा पानीको पुजा सम्पन्न गरि साकेला पुज्न उपस्थित हुनु भएका थिए । किरात राईहरुको आफ्नै भुमि ग्याम्बललेनमा चुलाको प्रतिक ‘सेउली गाडी’ पुजा गरेपछि साकेला थानमा गई उधौली पुजा गरेका थिए ।
एक आपसमा उधौलीको शुभकामना आदन प्रदान गर्दै ढोल र झेम्टाको तालमा साकेला नाचेका थिए । अन्तमा चुलाको प्रतिक गाडेको सेउलीमा धामीहरुद्धारा विधि र संस्कारगत पुजा सकेपछि उधौली सम्पन्न भएको थियो ।
मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली (छिरिनाम) चाँड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ। किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली (धिरिनाम) मनाउने प्रचलन छ।
