लिस्बोन । नेपाली जनसम्पर्क समिति पोर्चुगलले कोजाग्रत पूर्णिमाको अवसर पारेर लिस्बोनमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
दशैं, तिहार, छठ, नेपाल सम्वत लगायत चाडको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा समितिका पूर्व अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले प्रवासमा रहेका सबै कांग्रेसहरु एक हुनुपर्नेमा जोड दिए । उनले गुट उपगुट भन्दा पनि पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।
कार्यक्रममा जीपी फाउन्डेशन पोर्चुगलका सह–संयोजक यूवराज पन्थी, नेपाली नारी समाज पोर्चुगलका पूर्व अध्यक्ष सिता बराल, उपाध्यक्ष मिनामाया खरेल, जयभद्र सापकोटा, पत्रकार नारायण अर्याल, मगर समाजका कमल पुन लगायतले शुभकामना मन्तब्य राखेका थिए । उनीहरुले बीपीको मेलमिलापको बाटो छाड्न नहुने धारणा राखेका थिए ।

कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई समितिका कार्यबाहक अध्यक्ष अगमसिंह तामाङ सहितका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
कार्यक्रममा जनसम्पर्क समितिमा आवद्ध कांग्रेसका नेता, शुभेच्छुक, व्यवसायी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
सोही अनुरुप नेपाली जनसम्पर्क समिति पोर्चुगलले पनि कोजाग्रत पूर्णिमाको दिन हरेक वर्ष चियापान कार्यक्रमको आयोजना गर्ने गरेको समितिका महमन्त्री सुनिल संगमले बताए ।