काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को मंगलबारदेखि हुने नवौं विश्व सम्मेलनमा महासचिबका उम्मेदवार डा. केशव पौडेलले सहमति र सहकार्यका लागि उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेका छन्।
सन् २०१९-२१ का लागि हुन लागिरहेको एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको विश्व सम्मेलनमा अन्य केही सहकर्मीहरुको भावना, मर्म र योगदानको उच्च सम्मान गर्दै महासचिबबाट उपाध्यक्षका लागि उम्मेदारी दिने निर्णय गरेको उनले बताए। महासचिबमा जानकी गुरुङले उम्मेदवारी घोषणा गरिसकेकी छन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नौं बुँदे प्रतिबद्धतासहित महासचिबमा उम्मेदवारदी घोषणा गरेका उनले सुदृढ र पारदर्शी एनआरएन बनाइछाड्ने प्रतिबद्धता पनि जनाएका छन्।
घोषणा कार्यक्रममा उनले विदेशमा हुर्किएको पुस्तालाई मातृभूमीप्रति जिम्मेवार बनाउँदै संस्थामा नयाँ पुस्तालाई आकर्षित गर्ने योजनाहरु रहेको सुनाए। उनले एनआरएनएको अभियानमै ब्यापक सुधार आवश्यक रहेको बताए।
संस्थागत विकासको परिपाटीलाई अभिबृद्धि गर्दै एनआरएनएमा नियमित संचार र अन्तरक्रिया गराउने छुट्टै माध्यमको विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए। उनले भने, ‘संस्थाभित्रै संभावनाको खोजी र अवसरहरुको सिर्जना गराउनु आवश्यक छ।’
आफू अमेरिकामा चिकित्सा पेशामा रहेर सेवामुलक काम गरिरहेको बताउँदै उनले एनआरएनएमार्फत परोपकारी कामलाई अझै बढी प्राथमिकता दिनुपर्ने पनि बताए। उनले भने, ‘स्वार्थभन्दा माथि उठेर सेवा भावले काम गरे मात्र संस्था सबैको प्रिय र जिम्मेवार हुनेछ।’
विश्व सम्मेलनमा विश्वका करिब८१ देशका प्रतिनिधि नेपाल आइसकेका छन्। मंगलबार सम्मेलनको भब्य उद्घाटनको तयारी भइरहेको छ।-हाम्रा कुराबाट