लण्डन : बेलायतको लेस्टरमा एक नेपाली महिलाको हत्या भएको छ । फातिमा नामले चिनिने ३२ वर्षीया शुभेक्षा बुराथोकीको गत मंगलबार आफ्नै घरमा हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
मंगलबार बिहान उनकै निवासमा छुरा प्रहार भएको र घटनास्थलमै मृत्यु भएको बताइएको छ। बिहान करिब साढे ८ बजेको समयमा छुरा प्रहारको सुचना पाएलगत्तै प्रहरीको टोली पुग्दा बुराथोकीको ज्यान गइसकेको थियो।
पोस्टमार्टम रिपोर्टले पनि मृतकका शरीरका धेरै ठाउँमा छुरा प्रहार भएको देखाएको छ ।
लेष्टर प्रहरीले बिहीबार एक वक्तव्य जारी गर्दै ‘फातिमा’ नामबाट चिनिँदै आएकी मृतकको वास्तविक नाम शुभेच्छा बुराथोकी रहेको र उनी नेपाली रहेको पुष्टी गरेको छ।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बुराथोकीको हत्या कसले र किन गर्यो भनेर अझै स्पष्ट हुन नसकेको बताएको छ। घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।
यो केसको अनुसन्धान बेलायतको इष्ट मिडल्यान्ड स्पेसल अपरेसन युनिटका इन्स्पेक्टर मार्क सिन्स्कीको नेतृत्वमा प्रहरीले गरिरहेको छ।