फाईल फोटो
काठमाडौ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मेटमणि चौंधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन माग गरेका छन्।
प्रधानमन्त्री केपी ओलीसँगको भेटमा उनले सरकारलाई अलोकप्रिय बनाउने काम गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन माग गरेका हुन्। शुक्रबार प्रधानमन्त्री ओलीले प्रदेश ५ का पार्टीका सांसदहरुसँग सामूहिक भेट गरेका थिए।
सोही भेटमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौंधरीले बजेट सार्वजनिक भएसँगै सरकारप्रति जनताको आकर्षण ह्वात्तै घटेको स्मरण गराउँदै सकिन्छ भने बजेट करेक्सन तत्काल गर्न पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराए। उनले गरिव समूदायको चाहनालाई सम्बोधन गर्न पनि प्रधानमन्त्री ओलीसँग आफूले आग्रह गरेको बताए।
यता, प्रधानमन्त्री ओलीले भने नेपाली जनताको भावना अनुसार काम गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए। उनले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले मुलुकको अर्थतन्त्र धराशायी बनाएकाले यस वर्षको बजेटमा वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको पनि स्पष्ट पारेका थिए।
प्रधानमन्त्री ओली जनताको भावना, चाहना र आवश्यक्ता अनुसार काम गर्न प्रतिवद्ध रहनु भएको भेटमा सहभागी सांसद सोमप्रसाद पाण्डेले जानकारी दिए। प्रधानमन्त्री ओलीले सरकारले धराशायी भएको मुलुकको अर्थतन्त्रमा सुधार ल्याएको दावी गर्दै अव जनताको अपेक्षा अनुसार काम हुनेमा ढुक्क हुन पनि पार्टीका सांंसदहरुलाई आश्वस्त पारेका थिए।
प्रधानमन्त्री ओलीले जनताको गुनासो सुन्न पार्टीका सांसद र नेता/कार्यकर्ताहरुसँगको भेटलाई पनि निरन्तरता दिँदै आएका छन्।