२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनएका अग्रजहरु नै पक्ष र विपक्षमा किन ?

888 Shares
Spread the love

शैलेश पन्त

सम्मानित पदमा बहालवाला व्यक्तिले पदको मर्यादा र सम्मान गर्न नसक्दा सम्मानित व्यक्तिको आचारण र अनुशासनको पालन नगर्दा समाजमा नकारात्मक संदेश जान्छ । अहिलेको गतिविधि हेर्दा करिब एक दशक बितिसक्दा पनि एनआरएनएका अग्रजहरुको व्यक्तिगत आचारण र नीति नियम तथा अनुशासनमा कुनै सुधार आएको देखिंदैन।

एनआरएनएको २०१९- २०२१ कार्यकालको विश्व सम्मेलनको पूर्व सन्ध्यामा आएर संरक्षकद्वय रामप्रताप थापा र जीबा लामिछानेले डिजिटल मिडिया र सामाजिक संजालमा अध्यक्षका उम्मेदवार कुमार पन्तको पक्षमा भोट माग्नु पद र मर्यादालाई बिर्सिएर पदीय नैतिकतामा प्रहार भएको जस्तो लाग्छ। आदरणीय अग्रजद्वय रामप्रताप थापा र जीबा लामिछानेको साथ, सहयोग र समर्थनमा गत विश्व सम्मेलनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका हालका एनआरएनएको अध्यक्षका उम्मेदवार कुल आचार्यको बारेमा नकारात्मक भ्रमपूर्ण संदेश दिएर कसैलाई काखा कसैलाई पाखा गर्न संरक्षक पदमा आसीन व्यक्तिहरुलाई सुहाउने काम होइन । यस्ता व्यक्तिलाई ८१ देशका ७० लाख एनआरएहरुले कसरी संरक्षक मान्ने यो ठूलो प्रश्नवाचक चिन्ह उत्पन्न भएको छ।

संस्थालाई संधै आफ्नो मुठ्ठीमा राख्न खोज्ने र एनआरएनएको आडमा घोटाला गर्न पल्किएकाहरुले संस्थालाई सिण्डिकेट बनाएर चलाएका छन्। ग्लोबल सम्मेलनको पूर्व सन्ध्यामा आएर संरक्षक तथा एनआरएनएका अभिभावक अग्रजले एकजना मात्र उम्मेदवारलाई काखी च्यापी हिड्ने मनोवृतिले एनआरएनएको भविष्य अन्धकारमय भएर विसर्जनको द्वारसम्म पुग्न सक्ने अवस्था देखिन्छ। त्यसैले नयां पुस्तामा एनआरएनएप्रति आकर्षण भन्दा विकर्षण बढ्दै गईरहेकोछ।

जुनसुकै संघसंस्थामा आफ्नै बिधिबिधान र प्रकृयाहरु हुने गर्दछन्। त्यस्तै एनआरएनएमा पनि तपाईं अध्यक्ष हुदा निर्माण गरेका नीति नियम र आचारसंहिता छन् । के तपाई र रामप्रताप थापालाई यी लागू हुंदैन? सबै एनआरएनएहरुले यो प्रश्नको उत्तर खोजिरहेका छन् । यसबाट भाग्ने र पन्छने कोशिस गर्नु भयो भने यहिबाट पतनको बीजारोपण हुनेछ। एनआरएनएको सांगठनिक रुपमा तपाईं दुवै सबैको साझा व्यक्ति भएकोले तपाइको व्यक्तिगत स्वार्थको लागी कसैसित आत्मीय सम्बन्ध र व्यापारीक साझेदार हुन सक्दछ, तर सांगठनिक हिसावकिताबमा सबैलाई बराबर र पारदर्शी सम्बन्ध हुनु जरुरी छ।

संसारभरिबाट आएका प्रतिनिधिहरुले दुवै उम्मेदवारहरुको कार्यक्रम, एजेन्डा र नेतृत्व शैलीलाई हेरेर प्रजातान्त्रिक तरिकाले नेतृत्व चयन गर्ने प्रक्रियाको सट्टा बन्द कोठा भित्र बसेर सहमतिको आधारमा कुमार पन्तलाई नै अध्यक्ष बनाउनु पर्छ भन्ने अधिकार रामप्रताप थापा लाई कसले दियो? कुमार पन्तलाई अगाडी सारेर बर्षौंबर्ष सम्म एनआरएनलाई कब्जामा लिने सिन्डिकेटको योजनाको जिम्मा कसले लिने? थापाले कि लामिछानेले? यदि त्यसो हो भने अहिलेका सम्पूर्ण विकृति र विसंगतिको जिम्मा पनि उहांहरुले नै लिनु पर्छ?

अहिले एनआरएनए केन्द्र घाटामा गएको छ। संस्थामा दुइ ओटा सीइओ छन्। गएको २ कार्यकालदेखि संस्थाभित्र वितन्डा मच्चाई रहेका महासचिव बद्रि केसीले २ वर्ष पछि आफै अध्यक्ष हुने घोषणा गरेका छन् । सिन्डिकेटको यो भित्री चाल थापालाई थाहा छ कि छैन? थाहा छ भने त्यहि सिन्डिकेटको पक्षमा बोल्न उहांलाई कसले वाध्य पारिरहेको छ? सबै एनआरएनलाई जान्ने अधिकार छ ।

एनआरएनएका अग्रज अविभावक संरक्षकहरुले आफ्नो जिम्मेवारी निर्वाह नगरी खादा माला र आसन ग्रहणको सम्मान लिनु नैतिकताले मिल्दैन। सम्मानित पद, मानसम्मान खोजि खोजि लिने तर जिम्मेवारी पुरा गर्दा कसैलाई काखा, कसैलाई पाखा गर्नु एनआरएनएको विधि विधानलाई अभिभावक संरक्षकहरुले नै खिल्ली उडाएको मात्र हुनसक्दछ। यसबारे सम्बद्ध सबै पक्षले आम एनआरएन समुदायलाई छिट्टै जानकारी गराउनु हुने छ भन्ने विश्वास छ।

प्रतिक्रिया