काठमाडौ। गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलनका अवसरमा चुनावी सरगर्मी बढ्दै जांदा सत्तारुढ नेकपाका वरिष्ठ नेताहरुले कुमार पन्त प्यानलका पदाधिकारीहरुको नामावलीलाइ अन्तिम रुप दिएको खबर प्राप्त भएको छ ।
बलात्कारको आरोप खेपीरहेका पूर्वसभामुख कृष्णबहादुर महराको विषयमा छलफल गर्न भनि प्रचण्ड निवासमा नेकपाका सहअध्यक्ष प्रचण्ड तथा वरिस्ठ नेता एवम् विदेश विभाग प्रमुख माधव नेपालबीच बसेको बैठकमा एनआरएनको आसन्न निर्वाचनबारे पनि छलफल भएको थियो।
प्रचण्डको निजी निवासका एक विश्वस्त सूत्रका अनुसार प्रचण्डले अध्यक्ष प्रत्यासी कुमार पन्तले आफुलाई भेटेको र आफुले उनलाई डी बी क्षेत्रीलाई महासचिव एवम् गोविन्द गौतम र लोक दाहालमध्ये एकलाई कोषाध्यक्ष र अर्कालाई सह कोषाध्यक्षको रुपमा लिएर जान भनेको नेपाललाई सुनाएका थिए। यसबाट पन्त धर्मसंकटमा परेका छन् । भोट बैकको रुपमा रहेको यूकेबाट डा.हेमराज शर्मा उनको प्यानलमा महासचिवमा नपरेपछि उनले विद्रोह गर्ने सम्भावना रहेको छ यसबाट यूके निवासी अध्यक्षका अर्का उम्मेदवार कुल आचार्य लाई फाईदा पुग्ने देखिन्छ । साथै माहासचिवका उम्मेदवार जानकी गुरुंगले भारी मतले जित्ने एनआरएन बृतका जनकारहरुले बताए ।
त्यस्तै दुइ नेताहरुले उपाध्यक्षमा डा बद्रि केसी, अर्जुन श्रेष्ठ, धर्मराज अधिकारी तथा सोनाम लामा, सचिवमा गौरीराज जोशी तथा शिव बरुवाल, महिला संयोजकमा संगीता मरहट्टा तथा युवा संयोजकमा सुदिप कार्कीको नामलाई पार्टीको तर्फबाट अनुमोदन गरेको बताइएको छ । पूर्व अर्थमंत्री सुरेन्द्र पाण्डेले जिम्मा लिएका कारण हाल अमेरिकाज क्षेत्रका संयोजक रहेका जोशीलाई सचिव पदमा स्वीकार गरिएको पनि सूत्रले बतायो ।
महत्वपूर्ण पदहरु सबै नेकपा समर्थकहरुले हात पारेका कारण आफुलाई डेमोक्र्याट भनेर चिनाउने महासचिवका उम्मेदवार डा हेमराज शर्मा (युके) तथा कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठ (जापान) अलपत्र परेको सूत्रको भनाइ छ। अमेरिका निवासी एसी शेर्पा पनि सूचीमा नअटाएको बताइएको छ ।
नेपालमा सत्ताको बागडोर सम्हालेर बसेको नेकपाका वरिस्ठ नेताहरुको निर्देशन उल्लंघन गर्न सक्ने हैसियत कुमार पन्तसंग नरहेको र उनी आफै पनि प्रवासमा रहेका तत्कालीन एमालेका नेता तथा कार्यकर्ताहरुको सल्लाह र निर्देशनमा चल्ने भएकाले उनले पार्टीको निर्देशन अवज्ञा गर्न नसक्ने स्थिति छ । त्यस्तै रुसमा पढेका तथा कम्युनिस्टहरुसंग नजिक रहेका एनआरएनभित्र सिन्डिकेटका योजनाकार भनेर पनि चिनिने उपेन्द्र महतोले यो सूचीलाई नै अनुमोदन गर्ने पक्कापक्की भएको जानकारहरु बताउंछन् ।
पछिल्लो घटनाक्रमले गर्दा कुमार पन्तले आफुहरुलाई समेटेर लैजान्छन् भनेर उनको भर परेका आफुलाई डेमोक्रेट भन्नेहरू बिलखबन्दमा परेको बताइएको छ ।
यो प्यानल चयन प्रति नेकपाकै कतिपय वरिष्ठ नेताहरुको व्यापक असन्तुष्टी रहेको बुझिएको छ ।