लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्षमा सोम सापकोटाले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।
भूतपूर्व गोर्खा सैनिकहरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणा सभा मार्फत सापकोटाले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि आफुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने बताए ।
विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय तथा सुझाव लिए पछि सापकोटाले संघको आगामी कोषाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
वर्तमान कार्यसमिका सहकोषाध्यक्ष सापकोटाले संस्थालाई आर्थिक रुपमा बलियो बनाउने योजनासहित आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
‘संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन, मेगा प्रोजेक्टको अवस्था उस्तै छ, र योजनाहरु आर्थिकरुपले माइनसमा छन् तर पनि यसको व्यवस्थापन गर्न सकिन्छ, त्यसको सुरुआत म गर्छु,’ सापकोटाले भने ।
सन १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा २००६ मा एनआरएनए राष्ट्रिय समन्वय समिति, पोर्चुगलको कार्यसमिति सदस्य चयन भएका थिए ।
त्यसपछि सापकोटाले डेनमार्कको संस्थापक अध्यक्ष, एनआरएनए केन्द्रीय सदस्यका साथै यूरोप सहसंयोजकको भूमिका निर्वाह गरिसकेका छन् ।
सहकोषाध्यक्ष रहेर जिम्मेवारीपूर्ण काम गरेका सापकोटले यो कार्यकाल बाँकी रहेका अधुरा योजना सम्पन्न गर्न पनि कोषाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
भिडियो :