२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

छोराको मृत्युलाई पुलिसले दुर्घटना भन्यो, पिताले गरे डेढ वर्ष अनुसन्धान, खुल्यो हत्याको रहस्य

2670 Shares

एजेन्सी। डेढ वर्ष पहिले एक १८ वर्षका युवकको मृत्यु भएको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले यो मृत्यु दुर्घटनामा भएको भन्यो र त्यही अनुसार केस बन्द गरिदियो । तर, ती युवकका पिताले हार मानेनन् । उनले डेढ वर्षसम्म निरन्तर अनुसन्धान गरे । अहिले यो घटनामा नयाँ मोड आएको छ । पिताले अनुसन्धानमा प्राप्त गरेका तथ्यहरुको आधारमा क्राइम ब्रान्चले हत्याको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।

यो रोचक घटना भारतको राजधानी दिल्लीको हो । यहाँका ब्रह्मप्रकाशका १८ वर्षका छोरा जतिनको दिल्ली रेलवे स्टेशनमा लाश भेटिएको थियो । दिल्ली पुलिसले यो घटनामा जतिनको रेल दुर्घटनामा मृत्यु भएको बताएको थियो । तर, ब्रह्मप्रकाशलाई यो कुरा चित्त बुझेन । २१ डिसेम्बर २०१६को दिन साँझ साढे ४ बजे जतिनको मोवाइलमा एउटा फोन आएको थियो । केही समयमा उनी घरबाट गए तर फर्किएनन् । भोलिपल्ट दिउँसो ३ बजे सब्जीमण्डी रेलवे स्टेशनबाट ब्रह्मप्रकाशलाई एक फोन आयो ।

रेलवे पुलिसका सब इन्स्पेक्टर वेदप्रकाशले जतिनको रेल दुर्घटनामा मृत्यु भएको बताए । ब्रह्मप्रकाश घटनास्थलमा गएपछि पुष्टि भयो कि शव उनको छोराकै थियो । पोष्टमार्टमपछि शव ब्रह्मप्रकाशको जिम्मा लगाइयो । ब्रह्मप्रकाशलाई भने रेलवे पुलिसले भनेको दुर्घटनाको कुरा उचित लागेन । शरीरमा चोटको निशान र शवको स्थिति देख्दा उनलाई छोराको हत्या भएको शंका लाग्यो । किनकि ब्रह्मप्रकाश आफू पनि पुलिस थिए र यस्ता धेरै घटनामा अनुसन्धान गरिसकेका थिए । ब्रह्मप्रकाश असिस्टेन्ट सब इन्सपेक्टर थिए ।

पोष्टमार्टम रिपोर्टमा उल्लेख भएका चोट र शरीरका चोट मेल खाँदैनथे । छोराको शरीरमा रहेका कपडा नच्यातिएको देख्दा ब्रह्मप्रकाशको शंका अझै गहिरो भएको थियो किनकि दुर्घटना भएको भए कपडा च्यातिनुपथ्र्यो । यसका अलावा यदि रेल दुर्घटना भएको भए रेलवेका ड्राइभरले त्यही दिन दुर्घटनाको केस किन फाइल गरेनन् भन्ने समेत प्रश्न ब्रह्मप्रकाशको दिमागमा आयो । त्यसपछि उनी आफैं छोराको मृत्युको अनुसन्धानमा जुटे ।

जाँचका क्रममा ब्रह्मप्रकाशले पाए कि जतिन छिमेकमा बस्ने साथीसँग फोनको माध्यमबाट सम्पर्कमा थिए । सोधपुछमा ती साथीले भने कि उनी जतिनसँग हैदरपुर मेट्रो स्टेशनमा भेटेका थिए । यी दुईले भेट्नुपर्ने कारण के थियो भन्ने बारे भने उनले बताएनन् । जतिन जुन दिन घरबाहिर गएका थिए त्यस दिन फोन गर्ने यही साथी थिए । उता रेलवे पुलिसले जतिनका साथीको लोकेशन पनि ठिकसँग जाँच गरेको थिएन ।
जाँचपछि ब्रह्मप्रकाशले पुलिस आयुक्तलाई पत्र लेख्दै केसको नयाँ तरिकाले जाँचको माग गरेका थिए । उनले केस क्राइम ब्रान्चमा सार्न माग गर्दै रेलवे पुलिसको जाँचमा विश्वास नभएको बताए । उनको यो पत्रपनि केस क्राइम ब्रान्चमा पुगेको छ । क्राइम ब्रान्चले अब यो केसलाई हत्याको केसको रुपमा अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया