काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व पुष्पकमल दाहालले फुजेल घटनाका आरोपि छविलाल पौडेल निर्दोष रहेको जिकिर गरेका छन् । चितवनका विभिन्न सडकको शिलान्यास गर्ने क्रममा उनले मुस्कुराउँदै पौडेल निर्दोष भएको भन्ने अभिव्यक्ति सुनेपछि यता छोराको हत्यामा दशकौँदेखि विहल भएकी गंगामाया अधिकारी फेरी भावविहल भएकी हुन् । पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि गंगामायाले एक दशक लामो अनसन तोडेकी थिइन् । उनले १० दिन भित्र कार्वाही नगरे फेरी अनसन शूरु गर्ने अठोट लिएका बेला ५ दिन नपुग्दै प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि गंगामाया थप चिन्तित बनेकी छिन् ।
प्रचण्डले अनसनरत डा. गोविन्द केसीप्रति आवश्यक लचकता अपनाएर वार्ता गर्न सरकार तयार रहेको उल्लेख गर्दै उनले फुजेल घटनामा न्यायालयको फैसलाको सम्मान गर्ने बताएका थिए । अध्यक्ष दाहालले भने, “हाम्रो विचारमा छविलाल निर्दोष छन्, केही दिनभित्र निर्दोष सावित हुन्छन् ।” गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको अभियोगमा छविलाल पौडेललाई पुर्पक्षका लागि चलान गरिएको छ । सर्वोच्च अदालतमा आत्म समर्पण गर्न पुगेका पौडेललाई सदरखोर डिल्लीबजारमा राखिएको छ ।
कृष्णप्रसाद हत्याको आरोप लागेका पौडेललाई चितवन जिल्ला अदालतले २०७१ साल बैशाखमा धरौटीमा छाडेकोमा पुनरावेदन अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो । तर, सर्वोच्च अदालतले २०७२ साल पुसमा जिल्ला र पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै पौडेललाई थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो । छविलाल पौडेल लगायतलाई कारबाहीको माग गर्दै कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया अधिकारी लामो समयदेखि अनसनमा छिन् । पछिल्लो पटक गंगामाया शहीद दिवसका दिनदेखि वीर पतालमा आमरण अनसनमा छिन् । अनसन तोडेपनि उनको अहिले आईसीयुमा राखेर उपचार भईरहेको छ ।
गंगामायाका पति नन्दप्रसाद अधिकारीको न्यायका लागि अनशन बसिरहेकै बेला २०७१ असोजमा वीर अस्पतालको शय्यामा मृत्यु भएको थियो । नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमै छ । २०६१ साल जेठ २४ गते एसएलसी जाँच दिएपछि चितवन मावली हिँडेका कृष्णप्रसाद अधिकारीलाई तत्कालिन माओवादी कार्यकर्ताले सुराकीको आरोपमा हत्या गरेका थिए । पछि उनका नेठा दाजु नुरप्रसाद अधिकारीले हत्यामा संलग्नविरुद्ध किटानी जाहेरी दिएका थिए ।