काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले मुलकको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न संचार माध्यमहरुलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाई त्यत्ति सजिलो नभएकोतर्फ पनि संचार माध्यामहरुलाई सचेत गराए ।
आफूले नीति, निर्माणको तहमा २५÷३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन ? भन्ने अझै बुझ्न नसकेको उल्लेख गर्दै अर्थतन्त्रबारे नबुझिकन हल्का टिप्पणी गर्न नमिल्ने उनको तर्क थियो ।
बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ ? भनेर एकीन गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।
उनले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन भन्सारलगायतका शुल्कहरुको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा पनि परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढ्दै गईरहेका बेला खुला अर्थतन्त्र मुलुकका लागि उपयुक्त हुने÷नहुने बहसको विषय भएको पनि बताए । उनले मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको पनि दोहोर्याए ।