२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूकेको मतगणना विहिबार बिहानदेखि सुरु हुने

1779 Shares
Spread the love

लन्डन । एनआएएन यूकेको अवरुद्ध मतगणना विहिबार बिहानदेखि सुचारु हुने भएको छ । बुधवार मध्यराती सम्पन्न बैठकमा अध्यक्ष उम्मेद्वारद्वय शेर बहादुर सुनार र पुनम गुरुङ समुहबीच सहमति बनेपछि मतगणना सुचारु हुने भएको हो ।

बिहीवार बिहान १० बजेदेखि दुबै पक्षका प्रतिनिधिको सहभागितामा गणना हुनेछ ।

पुनम र शेर समुहबीच विवादमा परेका बेजिङ्स्टोक र ह्यारो बुथको गणना अन्त्यमा गर्ने गरी सहमति भएको हो । आवश्यक परे विवादित केन्द्रहरुबारे छानबिन गर्न समेत सकिने सहमति गरिएको छ ।

एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके निर्वाचन समिति प्रमुख मेजर डमर घले, संरक्षकहरु सुर्य गुरुङ, योगेन क्षेत्री लगायतको उपस्थितिमा दुई पक्षीय बैठक बसेको थियो ।

बुधबार दिउंसो मतगणना तत्काल सुचारु गर्न निर्देशनसहित आएको अाइसिसीको पत्रले सहमतिको वातावरण बनाउन सघाउ पुर्याएको थियो । अाइसिसीले मतगणनाको आवश्यक सुपरिवेक्षण गर्न बेलायतमै रहेका केन्द्रीय उपाध्यक्ष कुल आचार्यको संयोजकत्वमा अाइसिसी सल्लहकारद्वय डा हेमराज शर्मा र सुरेन्द्र श्रेष्ठ, सहकोषाध्यक्ष सोम सापकोटा एवम् युरोप संयोजक शिव बरुवाललाई जिम्मा दिएको छ ।

विवादमा परेको बेजिङ्स्टोक बुथको गणना अन्त्यमा गर्ने र आवश्यक परे छनबिन समिति बनाएर उक्त विवाद हल गर्न सकिने समेत अाइसिसीले बताएको थियो ।

गत शनिबार सम्पन्न भएको एनआरएन यूके निर्वाचनको मतगणना अहिलेसम्म पनि हुन सकेको थिएन । अध्यक्ष उम्मेदवार शेर सुनारको समुहले बेजिंगस्टोक बुथमा धाँधली भएको भन्दै यथावस्थामा मतगणना हुन नसक्ने बताउँदै आएको थियो ।

तर पुनम गुरुङ पक्षले भने सो बुथमा खटिएका निर्वाचन आयुक्त एवम पर्यवेक्षक समेतले निर्वाचनमा कुनै अनियमितता नभएको स्पष्ट बनाइसकेको तथा निर्वाचन समितिले यसअघि नै एकमतले मतगणना गर्ने निर्णय गरिसकेको अवस्थामा तत्काल मतगणना सुचारु गर्न माग गरेको थियो ।

प्रतिक्रिया