लण्डन । गैरआवासीय नेपाली संघको ८३ वटा एनसिसिहरुमा धमाधम राष्ट्रिय अधिवेशन भैरहेका छन् । केन्द्रिय विधानमा लेखिए अनुसार हिजो सेप्टेम्वर १५ बाट अधिवेशन गर्ने समय आधिकारिक रुपमा सकिएको छ । कति राष्ट्रिय अधिवेशनहरु सर्वपक्षिय छलफ़ल र सहभागितामा सहमतिका आधारमा नयाँ कार्यसमिति स्थापना गर्न सफ़ल भएका छन् भने धेरै राष्ट्रिय अधिवेशनहरुले निर्वाचनको माध्यमबाट नयाँ कार्यसमिति चयन गरेका छन् । सर्वपक्षिय छलफ़ल गरेर नयाँ कार्यसमिति चयन गर्नेमा जर्मनी र बेल्जियमले भने यसपटक उदाहरण स्वरुप कै काम गरेका छन् । जसरी जर्मनी र बेल्जियमले ठूलो हुलमुलमा समेत छलफ़ल गरेर कार्यसमिति छान्यो त्यसैगरि अन्य एनसिसिले पनि गर्न सकेको भए एनआरएनएको यसपालीको विश्व सम्मेलनबाट केहि आशा पलाउन सक्थ्यो होला तर धेरै सदस्यता हुने राष्ट्रिय अधिवेशन मध्य बेलायतमा भएको निर्वाचन प्रकृया र त्यस प्रकारको गैर वैधानिक कृयाकलापले भने यतिखेर सामिजिक संजालमा एनआरएनए प्रति व्यापक निरासा छाएको छ ।
अध्यक्षका प्रत्यासी पुनम गुरुङ्गलाई वर्तमान कार्यसमिति र साथ साथै निर्वाचन आयुक्त समेतले एकपक्षिय रुपमा भित्री सहयोग गरेको आरोप शेर बहादुर सुनार पक्षको छ । निर्वाचनका दिनको अघिल्लो दिनमा शेर बहादुर सुनार पक्षका धेरै मतदाताहरुको नाम नै मतदाता नामावलीबाट हटाईएको भन्ने आरोप पनि छ । तर यि सबै भएर पनि निर्वाचन चलिरहेको थियो तर अचानक पुनम गुरुङ्ग अध्यक्षका प्रत्यासीको बासस्थानमा रहेको निर्वाचन वुथ बेजिङ्गस्टोकमा धाँदली भएको हल्ला बाहिर आयो । त्यो क्षेत्र पुनम गुरुङ्गको पकड क्षेत्र हो भन्ने पुर्व अनुमान पनि सबैको थियो तर एकैजनाले पटक पटक भोट हालेका घटनाले, भोट नखसेको नामलिष्ट हेर्दै अरुले समेत भोट हालेको खवरले वेलायत तात्यो । त्यस्तो भएको थाहा पाएपछि शेर बहादुर सुनार पक्ष पछाडि हट्यो र कति ठाऊँमा मत पेटिका सिलबन्दि गर्ने कृयाकलामा नै बहिस्कार गरि हिंडे । अहिलेसम्म निर्वाचन कमिटिले पटक पटक सहमतिको प्रयास भने गरिरहेको छ । निर्वाचन कमिटि सफ़ल भने भएको छैन ।
शेर सुनार समावेशी समुहको धारणा जस्ताको तस्तै :
आदरणीय एनआरएनए समुदाय
एनआरएनए युकेको निर्वाचन र मतगणनाबारे धेरैमा अन्योल रहेकोले यो स्पष्टीकरण लेख्दै छौं ।
१-हामीले निर्वाचन या मतगणना बहिष्कार गरेका होइनौं । प्रजातान्त्रिक विधि र पद्धतिबाट नेतृत्व चुनिनुपर्छ भन्ने मान्यताका साथ हामीले निर्वाचनमा भाग लिएका हौं । हामी हाम्रो मान्यतामा अडिग छौं।
२-हामी पराजित हुने डरले मतगणनामा सहभागी नहुने भन्ने नियोजित हल्ला निराधार छ । मत नगनिदै कोही जित्ने या हार्ने भन्ने हुँदैन । स्वच्छ रूपमा खसेका मतहरू हाम्रै पक्षमा बढ़ी छन्। गणनासँग डराउनुपर्ने कुनै कारण छैन । अझ एकएक वर्ष बाँड्ने भन्ने माग त हाम्रो कत्ति पनि होइन । चुनाब अघि पनि कतैबाट यस्तो माग प्रायोजित थियो । अहिले पनि छ ।
३-बेजिंगस्टोक बुथमा भएको निर्वाचन निष्पक्ष र धाँधलीरहित थिएन भन्ने सबैलाई स्पष्ट भइसकेको छ । निर्वाचन चलिरहँदा नै दिउसो दुई बजे त्यो बुथको निर्वाचन रोक्न निर्वाचन कमिटीलाई उजुरी दिइएको थियो । जम्मा २० मिनेट ड्राइभको दूरीमा रहेका प्रमुख निर्वाचन आयुक्तले त्यहाँको स्थलगत निरीक्षण गरेर रोक्न सक्नुहुन्थ्यो तर त्यो पनि भएन । हाम्रा प्रतिनिधिहरू त्यहाँ बस्न सक्ने अवस्था नभएपछि दिउसो नै तिनले बुथ छोडेका थिए र एकपक्षीय प्रतिनिधि राखेर निर्वाचन सम्पन्न भएको थियो ।
४-१४ तारिख बेलुकासम्म पनि उजुरीमाथि कुनै सुनुवाई या जबाफ प्राप्त भएन । बरु अर्को पक्षले ह्यारो र अल्डरसट बुथमा समेत अनियमितता भएको लिखित निवेदन दिएको सुनियो ।
५-बेजिंस्टोकको निवेदनमाथि कुनै कारबाही नभएसम्म मतगणनाका लागि प्रतिनिधि नपठाउने हाम्रो सामूहिक निर्णय भयो । अन्य मतपेटिका सुरक्षित राखेर त्यो बुथमा मात्र पुनर्निर्वाचन गर्नुपर्ने हाम्रो माग थियो । धेरै चरणमा वार्ता भए । तर कुनै सहमति भएन ।
६-अघिल्लो दिनसम्म नाम भएका मतदाताको नाम अचानक लिस्टबाट हट्ने, एउटा मतदान केन्द्रमा हुनुपर्ने नाम अन्तै पुग्ने, पैसा र आवश्यक कागजपत्र बुझाएकाहरूले पनि सदस्यता नपाउने, प्यानलको लिस्ट नै बोकेर मतदान हुने, परिचयपत्र दुरुपयोग गरेर मतदान हुने जस्ता अनेक अनियमितता रहे पनि चुनाबमा तिनलाई सहनुपर्ने ठानेर हामीले मुद्दा बनाएनौं । तर बेजिंस्टोकमा भएको धाँधली सामान्य थिएन । कम्तिमा दिउसै निवेदन परेपछि त्यसलाई पूर्णतया इग्नोर गरेर अघि जान नमिल्ने हाम्रो एकमात्र माग थियो । अर्को पक्षले चाहन्छ भने अन्य दुई बुथमा पुनर्निर्वाचन गर्न हामीलाई कुनै आपत्ति छैन । बेजिंस्टोकमा गर्न उहाँहरूलाई किन आपत्ति भएको हो भन्ने थाहा भएन । त्यत्रो कुरो उठेपछि छानबिन टोलीसम्म नबनाइनु आफैमा दुःखद छ ।
७-हामी सहभागी नभएपछि एकपक्षीय रूपमा मतगणना अघि बढेको थियो । तर गनेका मतमा हाम्रो धेरै देखिएर हो या अन्य कारणले हो, त्यो पनि रोकियो । हामीले त्यसलाई सहमतिको प्रयासका रूपमा बुझेर सकारात्मक रूपमा लियौं ।
८-दर्जनभन्दा बढ़ी वार्ताहरूमा अर्को पक्ष निर्वाचन गर्न तयार नहुने भएपछि थुप्रै मध्यमार्गी विकल्पमा सहमति भए पनि कार्यान्वयन हुने बेला फेरि असहमत हुने प्रक्रिया आजसम्म जारी छ । त्यहाँको मत पूरै नगन्ने भन्ने हाम्रो माग होइन ।
९-उत्तिखेरै छानबिन टोली बनाएर सत्यतथ्य खोजेको भए अहिलेसम्म एउटा निष्कर्ष आइसक्ने थियो । वार्ता भन्ने तर त्यस विषयमा प्रवेश नै नगर्ने अवस्था रह्यो । निर्वाचन कमिटीबाट राजीनामादेखि भौतिक कारबाहीसम्मका धम्की आउनु दुःखद छ । समाजका शिष्ट, विशिष्ट र सभ्य व्यक्ति सम्मिलित निर्वाचन कमिटीले विधिसम्मत काम गर्नेछ भन्ने हाम्रो विश्वास छ ।
१०- हामी निर्वाचन कमिटीलाई र आदरणीय अग्रज अभियन्ताहरूलाई त्यस विषयमा ठोस निर्णय लिन र तुरुन्त जनताको अभिमतलाई सम्मान गर्ने गरी मत गन्ने वातावरण मिलाउन हार्दिक आग्रह गर्दछौं । आफूले गरेको मतदानको रिजल्ट सुन्न आतुर छन् र जनमतको कदर गर्नु हामी सबैको दायित्व हो ।