पोर्चुगल, २४ भदौ । प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष पूर्वप्रधानमन्त्र्री गिरिजाप्रसाद कोइरालाको स्मृतीमा स्थापित जीपी कोइराला फाउण्डेसनको शाखा पोर्चुगलमा गठन गरिएको छ ।
सोमबार राजधानी लिस्बनमा आयोजित एक कार्यक्रका बिच नेपाली जनसम्पर्क समिति पोर्चुगलका पूर्व उपाध्यक्ष सुशील शर्मा गैरेको संयोजकत्वमा ९ सदस्यीय जीपी कोइराला फाउण्डेसन पोर्चुगल शाखा गठन गरिएको हो ।
१०६ औं विपी जयन्तीको अवसरमा पारेर आयोजित कार्यक्रममा नेपाल प्रेस युनियन काठमाडौंका पूर्व अध्यक्ष नारायण अर्यालले नवगठित समितिको घोषणा गर्नुभएको थियो ।
समितिको सह संयोजकमा युवराज पन्थी रहनुभएको छ भने सचिवमा सीता बराल चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा प्रमोद पोखरेल, विष्णु सापकोटा, जीवन सुवेदी र टेक खत्री लगायत रहनुभएको छ । बाँकी दुई सदस्य पछि मनोनित गरिने समितिले जनाएको छ ।

समितिको सल्लाहकारमा जनसम्पर्क समिति पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष रमेश गुरुङ, जनसम्पर्क समितिका अध्यक्ष विनोद घिमिरे, कांग्रेस महासमिति सदस्य चीजकुमार तामाङ, महाधिवेशन प्रतिनिधि सुरेन्द्र अम्गाईं, गैरआवासीय नेपाली संघ पोर्चुगलका निवर्तमान अध्यक्ष कुबेर कार्की र पत्रकार नारायण अर्याल रहनुभएको छ ।
कार्यक्रममा बोल्दै जनसम्पर्क समिति पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमालले युगपुरुष गिरिजाप्रसाद कोइरालाको सम्झना र सम्मानमा स्थापित फाउण्डेसनको आदर्श र लक्ष्य अनुसार काम गर्न समितिलाई सुझाब दिनुभयो । लोकतन्त्र, शान्ति र विकासको नारालाई साकार पार्न आग्रह गर्दै हमालले राजनीति भन्दा समाजसेवामा केन्द्रीत हुन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा एनआरएनए पूर्व अध्यक्ष रमेश गुरुङ, जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
फाउण्डेसनका संयोजक सुशील शर्माले प्रारम्भिक चरणमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै फाउण्डेसनको लक्ष्य प्राप्तिका लागि निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । शर्माले निकट भविष्यमै फाउण्डेसनले समाजमा सकारात्मक प्रभाव पार्ने खालका काम गर्ने जानकारी दिनुभयो ।
संयोजक शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन बिपिन अर्यालले गर्नुभएको थियो ।