एजेन्सी – जेल भन्ने बित्तिकै हाम्रो मनमा कस्तो तस्बिर आउँछ ? शायदै, तपाईँ हामी मध्ये कोही पनि यस्तो ‘इमेजिनेसन’ गर्ने धृष्टता गर्नमा उत्सुकता देखाउँछौ होला ? तर भारतमा एउटा यस्तो पनि जेल छ जहाँको कैदी आफूलाई जेलमा होइन, राजमहल मै बसेको अनुभव गर्छ ।
किन न गर्नु यो जेल नै पुरानो जमानामा बनाइएको एउटा किलामा रहेको छ । किलालाई नै जेलमा रूपान्तरित गरिएको थियो ।
भारत को केन्द्रशासित प्रदेश दमन दिउ जुन गुजरात राज्यको पश्चिमी समुद्रीय तटमा अवस्थित छ ,राजमहल जस्तो जेल यसै राज्यमा रहेको छ। कुनै बेला पोर्चुगलको आधिपत्य रहेको यस द्वीपमा रहेको यस जेलमा कैदी संख्या पनि पहिलो प्राकृतिक संख्या बराबरी रहेको छ ।
गणित, विज्ञान अथवा दर्शनशास्त्रमा शून्यलाई संख्या मानिँदैन। शून्य भनेको उपस्थिति हुनुपूर्वको अवस्था हो, यसलाई कति भनेर प्रश्न गर्नु, भाषाको व्याकरणीय दृष्टिकोणबाट सम्यक र उपयुक्त भए पनि व्यावहारिक दृष्टिकोणले उपयुक्त मान्न सकिँदैन । शून्य अर्थात केही पनि होइन । पहिलो प्राकृतिक संख्या १ हो ,अर्थात यस जेलमा कैदी संख्या जम्मा १ रहेको छ ।
यस जेलको इतिहास भने ४७२ वर्ष पुरानो छ, अर्थात यो किला को निर्माण ४७२ वर्ष पूर्व भएको थियो । भारत सरकारले सं १९६१ मा यसलाई जेल बनाएको थियो । तर वर्तमानमा यहाँ जम्मा एकजना कैदी मात्रै छ । यी सौभाग्यशाली कैदीको नाम दीपक कान्जी हो । ३० वर्षीय कान्जी यस जेलमा एक मात्र कैदीको रूपमा रहेर आफ्नो अपराधको सजाय काटिरहेका छन् ।
जेल भित्र रहेका अनेको कोठा मध्ये एउटा कोठामा कान्जीलाइ राखिएको छ । कुनै बेला यस कोठामा २० जना कैदी राखिने गरिन्थ्यो । कान्जीलाई जेल भित्र गुजराती भाषाका अखबार, पत्र पत्रिका उपलब्ध हुनुका साथै टिभीमा दूरदर्शन लगायत आध्यात्मिक च्यानल हेर्ने सुविधा रहेको छ ।
साँझमा उनलाई ‘इवनिंग वाक’ का लागि एकजना गार्डले २ घण्टासम्म घुमाउन लैजान्छन्। एकजना कैदी मात्र भएकोले जेल प्रशासनले जेलमा खाना बनाउने झन्झट नगरेर उनका लागि नजिकको रेस्टुरेन्टबाट खाना मगाउने गरेको छ ।
जेल प्रशासनले एकमात्र कैदीमाथि प्रति महीना ३२ हजार रुपैयाँ खर्च गर्ने गरेको छ। कान्जी आफ्नो पत्नीलाई विष खुवाएको आरोपमा सजाय काटिरहेका छन् ।
जेलमा एक असिस्टेन्ट जेलर ५ जना गार्ड र एक सहायकको नियुक्ति रहेको छ ।
कैदी संख्या अति नै न्यून भएर भारतीय पुरातत्व सर्वेक्षण विभागले यस जेललाई अधिग्रहण गर्ने आशयको प्रस्ताव भारत सरकार समक्ष राखेको छ ।
पुरातत्व विभागले यस किलालाइ पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न चाहन्छ । भारत सरकारले पुरातत्व विभागको प्रस्ताव स्वीकार गरेपछि यहाँको एक मात्र कैदीलाइ अन्यत्रको जेलमा पठाइने छ ।