लण्डन । प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरको आयोजनामा सोमबार तीज विशेष कार्यक्रम उल्लेखनीय सहभागिताका साथ सम्पन्न भएको छ ।
तीजकै दिन एशिएन कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा ७ सय भन्दा बढिको सहभागिता रह्यो । पछिल्लो केहि वर्षको तुलनामा यसपटक सहभागीहरुको संख्यामा वृद्धि भयो भने व्यवस्थापन र मनोरञ्जनका दृष्टिले पनि सहभागीहरुले कार्यक्रम झन् रुचाए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीज विशेष पूजा, प्रवचनका साथै सहभागीहरुले नाचगान गरी मनोरञ्जन लिएका थिए ।
व्रतालु महिलाहरुको लागि निशुल्क रुपमा पिउने पानी र फलफूल व्यवस्था गरिएको थियो । पण्डित निलहरि घिमिरे र चेतनारायण लुइंटेलले तीजको पूजा सञ्चालन गरेका थिए भने पण्डित घिमिरेले तीज विशेष प्रवचन समेत दिएका थिए ।

कार्यक्रममा सहभागी तथा सहयोगी सबैलाई आयोजकका तर्फबाट मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कंडेलले धन्यवाद ज्ञापन गरेका थिए । उपाध्यक्ष दासुराम पाण्डे र कार्यसमिति सदस्य मञ्जु गौतमले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव कल्पना त्रिपाठीले गरेकी थिइन् भने सुनिता गौतमले उनलाई सघाएकी थिइन् । डिजेको भुमिका हेम विष्टले निभाएका थिए ।
कार्यक्रममा सहभागीहरुको लागि पिउने पानीको प्रायोजन लुम्बिनी स्टोर्सका तर्फबाट गरिएको थियो । कार्यक्रमको लगि सिंगो कार्यसमिति र ट्रस्टीहरुका साथै चक्रबहादुर राना, चन्द्रकला गौतम, ललिता अर्याल, केशु खरेल लगायतले सक्रियतापूर्वक सहयोग गरेका थिए ।
प्रसुना कंडेल, एलिशा कंडेल र केल्सी सापकोटा लगायतले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको रुपरेखा निर्माण तथा संयोजनमा ट्रस्टी विनोद ज्ञवालीले कार्यसमितिलाई विशेष सहयोग गरेका थिए । सन् २००२ देखि नै प्लमस्टिडमा वर्षेनी हुंदै आएको यो कार्यक्रम ग्रिनविच हिन्दू मन्दिर, सेन्ट प्याट्रिक हल हुंदै एशिएन कम्युनिटी सेन्टरसम्म ल्याउन नेतत्वदायी भुमिका खेलेका ज्ञवालीले यसअघि डेढ दशकसम्म हरेक वर्ष तीज कार्यक्रमको संयोजन गर्दै आएका थिए ।
कार्यक्रममा उपस्थित एनआरएन यूकेका आसन्न निर्वाचनका उम्मेदवारहरुलाई सामुहिक रुपमा शुभकामना दिइएको थियो । कार्यक्रमको लागि आर्थिक एवम् अन्य सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो ।
यस वर्ष कार्यक्रमबाट सबै खर्च कटाएर ५ हजार पाउण्ड भन्दा बढि रकम जम्मा भएको मन्दिर समितिकी सचिव कल्पना त्रिपाठीले जानकारी दिइन् ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष होम शर्मा, पूर्व अध्यक्ष बालजंग अर्यालसति मन्दिरका ट्रस्टी एवम् कार्यसमितिका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।