
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले सकारात्मक विषयहरु गौण बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता कार्यक्रममा उनले मुलुकमा पछिल्लो समय नकारात्मक कुरा बढी र सकारात्मक कुरा गौण बन्दै गएको बताए ।
मन्त्री पण्डितले शिक्षा नै विकास र समृद्धिको मुल आधारस्तम्भ भएको उल्लेख गर्दै सकारात्मक सोच र विचार प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले अंग्रेजी माध्यमलाई प्राथमिकता दिएर नेपाली विषयलाई कमजोर हुने वातावरण नबनाउन सचेत गराए ।
नृत्य प्रतियोगितामा भिजन एकेडेमी कोटेश्वर पहिलो, विपुल शिक्षा निकेतन बौद्ध दोश्रो र नेरिक एकेडेमी शंखमुल तेश्रो तथा कान्तिपुर एकेडेमी जोरपाटी चौथो भएका छन् । प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार, तेश्रोले ५ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।