
दार्जिलिङ। दार्जीलिङ-गान्तोकबाट काठमाडौं जाने यात्रीहरू अब काँकरभिट्टा गइरहन पर्दैनन्। उनीहरू सिलगढ़ीबाटै बस चढ़ेर काठमाडौं पुग्नेछन्।
काठमाडौंदेखि दार्जीलिङको सिलगढ़ीबीच भारत-नेपाल मैत्री बस सेवा शुरु भएको छ। सोमवार काठमाडौंबाट अपराह्न हिँड़ेको बस मङ्गलवार बिहान सिलगढ़ी आइपुगेको छ। जानकारीका अनुसार यो बस सेवा भारत-नेपाल १०औं मैत्री बस सेवा हो।
नेपालका भाैतिक याेजना तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ र नेपालका लागी भारतीय राजदूत मनजीत सिंह पुरीले सोमबार काठमाडौंमा यो मैत्री बस सेवालाई संयुक्त रूपले हरियो झण्डा देखाएका थिए। भारतको ग्रिनलाइन र नेपालको संयुक्त यातायात प्रालिले यो दैनिक बस सेवाका लागि सम्झौता गरेका छन्।
जानकारीका अनुसार उक्त बस सिलगढ़ीबाट प्रतिदिन अपराह्न ३ बजे छुट्नेछ भने भोलिपल्ट बिहान ९ बजे काठमाडौं पुग्नेछ। काठमाडौंबाट पनि अपराह्न ३ बजे बस हिँड़ेर भोलिपल्ट ९ बजे सिलगढ़ी आइपुग्नेछ।
दार्जीलिङको सिलगढ़ीबाट काँकरभिट्टा हुँदै काठमाड़ौं आउ-जाउ गर्ने यो पहिलो बस सेवा हो। सिलगढ़ीनिवासी बसका प्रभारी अशोक बराइलीका अनुसार आज काठमाडौंदेखि सिलगढ़ीसम्म ट्रायल रन गरिएको हो। उनका अनुसार आगामी ५-६ दिनभित्र पूर्ण रूपले बस सेवा शुरु हुनेछ।
दुई देशबीच पर्यटन र व्यापारिक सम्बन्धलाई बढ़ावा दिनका लागि सिलगढ़ी-काठमाड़ौंबीच मैत्री बस सेवा शुरु गरिएको बताइएको छ।
ट्रायल रनमा काठमाडौंबाट सिलगढ़ी आउने यात्रीको सङ्ख्याको पाँच थिए। जसमा बराइलीसमेत ग्रिनलाइन यातायातका मालिकलगायत काठमाडौंबाट अन्य तीनजना रहेका थिए। यद्यपि आज ९ बजेको सट्टा केही अबेर गरी ११ बजे आइपुगेको थियाे। चेकपोस्ट प्रोटोकल पूरा गर्दा करिब दुईघण्टा अबेर भएको उनको भनाइ छ।
४४सीट रहेको उक्त वातानुकूलित डिलक्स बसमा वाइफाइको सुविधासमेत छ। सिलगढ़ी-काठमाड़ौं भाड़ा भारु १२०० (नेरु दुई हजार) छ।
स्मरण रहोस्, २०१४मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा जाँदा दुवै देशका यात्रीहरू दुईतिरै आउजाउका लागि निर्बाध र बिनाकुनै समस्या यात्रा र पर्यटनलाई बढ़ावा दिनका लागि एक सम्झौता गरेका थिए। तत्अनुरुप नै यो बस सेवा शुरु भएको बताइएको छ।
अर्कोतिर, काठमाड़ौं-सिलगढ़ी मैत्री बस सेवा शुरु भएपछि दार्जिलिङलगायत उत्तर बङ्गालका पर्यटन हितधारकहरू अत्यधिक खुशी भएका छन्। यसले पर्यटनसँग सँगै दुई देशबीच व्यापारिक सम्बन्ध बलियो हुने कुरामा क्षेत्रका पर्यटन हितधारकहरू विश्वस्त छन्। हिमालयन हस्पिट्यालिटी एन्ड डुरिज्म डेभलपमेन्ट नेटवर्कका अध्यक्ष सम्राट सन्याल भन्छन्, ‘सिलगढ़ी-काठमाड़ौं मैत्री बस सेवाले भारत-नेपालको पर्यटन विकासमा सघाउ मात्र पुग्ने छैन। तर, दुवै देशबीचको सम्बन्ध पनि प्रगाढ़ हुनेछ।’
काठमाड़ौं-सिलगढ़ी मैत्री बस सेवाले पर्यटन विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा ट्राभल्स एसोसिएशन झापाका अध्यक्ष नीरबहादुर (नेत्र) कार्की पनि विश्वस्त छन्। ‘हामीलाई आशा छ, यो बस सेवाले दुई देशबीचको पर्यटन व्यवसाय बढ़ावा दिनका साथै र व्यापार सम्बन्धलाई बलियो बनाउनेछ’, कार्कीले भने।