
वासिंगटन डिसी (अमेरिका) , अमेरिकामा गत वर्ष हत्या भएका रेशम बजगाईंका अभियुक्तलाई अदालतले ६० वर्ष जेल सजायको फैसला सुनाएको छ। भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले बजगाईंको हत्यामा संलग्न मोहमद ए अब्दुल्लाहीको हकमा २५ हजार अमेरिकी डलर जरिवाना पनि तोकेको छ।
अदालतद्वारा गठित जुरीको सिफारिशमा न्यायाधीशले फैसला सुनाएका हुन्। हत्यामा दोषी मोहमद २०१९ नोभेम्बर २२ मा जेल चलान हुनेछन्।
भर्जिनियाको हरन्डन सहरस्थित सुनोको पेट्रोल पम्पमा कार्यरत रहँदा रेशममाथि सन् २०१८ जुलाई ४ मा आक्रमण भएको थियो। आगो निभाउने उपकरणले प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। सो चोटका कारण उनको मृत्यु भएको थियो।
प्रहरी अनुसन्धानले फलामे चिजले प्रहार गरी एवं घाँटी न्याकेर उनको हत्या भएको प्रमाणित गरेको छ। फैसलाअघि घटनाका सम्पूर्ण प्रमाण अदालत न्यायाधीश समक्ष पेश गरिएको थियो।
यो प्रकरणको सुनुवाइ गरेको भर्जिनिया अदालतले दुई चरणमा फैसला सुनाएको हो। पहिलो चरणमा हत्यालाई प्रथम श्रेणीको हत्या किटानी गरेको थियो। प्रथम श्रेणीको हत्याका लागि कम्तिमा २० वर्ष र बढीमा जन्मकैद हुन्छ।
दोस्रो चरणको सुनुवाईपछि ६० वर्ष कैदको फैसला आएको हो। प्रहरीले घटनापछि गत वर्ष नै हत्याका अभिव्युक्त मोहमदलाई पक्राउ गरेको थियो। अब उनी प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका छन्।
४० वर्षीय रेशम बजागाईं सन् २०१७ मा अमेरिका आएका थिए। उनी उक्त पेट्रोल पम्पमा हप्तामा एक पटक मात्र काम गर्थे।
रेशम पत्नी तथा छोरीसहित अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपास बसोबास गर्दैआएका थिए। हरन्डनको किनमेल गर्ने बजारस्थित १३३०० ब्लक अफ फ्रान्कलीन फर्ममा घटाना भएको थियो।