
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विस्थापित गर्ने कल्पनासमेत नगर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई चेतावनी दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले जनताले पाँच वर्ष काम गर्न दिएको आदेश अनुसार चल्ने भएकाले ‘सरकारलाई अल्झाउने, काम गर्न दिन्न भन्ने सोचहरु’ बेकार हुने जिकिर गरे।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय, धुम्बाराहीमा पार्टी निकट पत्रकारहरुसँगको सामूहिक भेटमा उनले नेपालमा रेल आउने भन्दा पीर गर्नु पर्नाको कारण स्पष्ट पार्न काँग्रेसलाई चुनौती दिए। प्रधानमन्त्री ओलीले नेपालमा रेल आउने र त्यसका लागि पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि लिग बिछयाउने काम सुरु गरिएको बताए।
उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा एकतावद्ध भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए। एउटा पनि अलोकतान्त्रिक गतिविधि हुन नदिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता छ। उनले सरकार विधिसम्मत ढंगले चल्ने र कुनै पनि खालको गैरकानूनी काम गर्न नदिन दृढ रहेको दाबी गरे। ‘मिचमाच, थिचथाच, पेलपाल’ गर्ने पक्षमा सरकार नरहेको प्रधानमन्त्री ओलीको स्पष्टिकरण छ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिदै सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले मन्त्रीहरुको अनुपयुक्त अभिव्यक्तिप्रति आफ्नो पर्याप्त ध्यान गएको र प्रधानमन्त्रीको हैसियतले त्यसलाई उपयुक्त ढंगले हल गर्न आफू तयार रहेको बताए। उनले कानुनमन्त्री शेरबहादुर तामाङका विवादित अभिव्यक्तिप्रति संकेत गर्दै मन्त्रीहरुका अनुपयुक्त अभिव्यक्तिबाट देखिएको समस्या हल गर्न उपयुक्त विधि अपनाइने बताए।
प्रधानमन्त्री ओलीले वार्तामार्फत् समस्या समाधान गर्न वरिष्ठ चिकित्सक गोविन्द केसीलाई पुनः आग्रह गरे। उनले चिकित्सकहरुले उपचार छोडेर आन्दोलनमा गएकोमा पुनः आक्रोश व्यक्त गरे।