नारायण गाउँले
म उपाध्याय ब्राह्मणको छोरा हुँ । समतामूलक र समावेशी समाजका बारे हामीले धेरै भाषण र कविता कोरेका छौं । हाम्रो संविधानदेखि पाठ्यपुस्तकसम्म कतै पनि विभेद छैन । तर हामीले भोग्ने समाज पाठ्यपुस्तकभन्दा भिन्न छ । मान्छे एउटै हो, रगत सबैको रातै हुन्छ भन्ने चर्को प्रवचन दिने तर कथित दलितसँग बिहे गरेको निहुँमा आफ्नै छोरीलाई बहिष्कार गर्ने सांस्कृतिक समाज छ । मौका र अवसर आउँदा आफै राख्ने र आश्वाशन र भाषणचाहिँ दिल खोलेर बाँड्ने राजनैतिक समाज छ । म त्यस्तै समाजमा हुर्किएँ ।
बेलायत छिरेपछि यहाँको उच्चतम मानवविकासको नमुना देखे र भोगेपछि धेरै मनहरूजस्तै म पनि बदलिएको छु । शदियौंदेखि उत्पीड़ित र दलित भएर बाँच्नुपर्दाका पीड़ाहरू प्रत्यक्ष अनुभव गर्न त के सकिन्थ्यो र ? तैपनि मैले नजिकबाट छाम्ने प्रयास गर्दै आएको छु । म अलिकति धार्मिक पनि छु र धर्मको आडमा हुँदै आएका विभेदहरू बास्तवमा अधार्मिक छन् भनेर सकेको प्रमाणसहित वकालत गर्दै आएको छु ।

यसपालि एनआरएनए युकेको चुनाब मेरो परीक्षा लिने गरी आयो । मैले श्रद्धा गरेको र सक्षम देखेको एउटा जागरूक महिला एकातिर र दशकौंदेखि बेलायती नेपाली डायस्पोरामा नि:स्वार्थ समाजसेवाका प्रतीक बनेका र कथित दलित समुदायबाट प्रतिनिधित्व गर्ने सिनियर दाइ अर्कोतिर । लेख्नकै लागि त जे पनि लेखिएला, अझ यतिबेला एउटाको पक्षमा मात्रै लेखिएला, तर मलाई यस्तो परीक्षा नआएको भए हुन्थ्यो भन्ने लागिरह्यो । एउटी महिला पहिलोपल्ट अध्यक्ष बन्ने अवसर र शदियौंदेखि उत्पीड़ित समुदायको आत्मसम्मान र गरिमा बढाउने गरी ‘दलित’ अध्यक्ष बनाउने अवसर अलगअलग आएको भए म दुबैलाई खुलेर समर्थन गर्ने थिएँ । तर दुर्भाग्य, यो अवसर जुधेर आयो । कुनै एउटा उम्मेदवारमा गन्न सकिने खराबी भएको भए म सजिलै एउटाको पक्षमा बोल्ने थिएँ, तर दुबै सम्बन्धित पदका लागि अयोग्य नभएकाले झन ठूलो द्विविधा थपिनु स्वाभाविक थियो । मैले उम्मेदवारी मनोनयनसम्म पनि मनभित्र कतै सहमतिको आशा मारेको थिइन । तर समाजका अग्रजहरू जुटाउनभन्दा फुटाउन बढ़ी अग्रसर भएको अनुभव भयो । फलतः यो अभियान तीतो बन्दै गएको अनुभव धेरैलाई भयो होला ।
एउटा ‘बाहुन’का रूपमा मैले धेरै आरोपहरू खेपेको छु । विभेदको मूल मेरै आँगनबाट फुटेर बग्छ भन्ने धेरैलाई लाग्छ । यस्तो लाग्छ, यो ऐतिहासिक सामाजिक कलङ्कको टीका मेरै निधारमा टल्किन्छ ।
मैले यो चुनाबलाई त्यो टीका पखाल्ने अवसरका रूपमा लिने कठिन निर्णय गरेँ र अन्ततः शेर सुनारको पक्षमा उभिएँ । समाज बदल्ने हो भने र समतामूलक समावेशी समाज निर्माण गर्ने हो भने बोलेर मात्रै त हुँदैन भन्ने मलाई लाग्यो । एउटा उम्मेदवारीले त्यो कालो र लामो इतिहासलाई त के न्याय गर्न सक्थ्यो र ! तैपनि मैले मबाट हुनसक्ने सानोभन्दा सानो काम गर्नु नै मेरो धर्म हो ।
मैले ‘दलित’ भएकैले शेर सुनारलाई समर्थन गरेको भने होइन । यो एक कार्यकाल उहाँसँग एउटै कार्यसमितिमा रहेर मैले काम गरेँ । मेरो पहिलो चिनाजानी पनि यही थियो । उहाँको सरलता, निष्कपटता र कर्तव्यपरायणता उदाहरणीय थियो । थोरै बोल्ने तर काम गर्न सधैँ अग्रसर रहने उहाँको चरित्रले मलाई तान्दै लग्यो । उहाँ सर्वोत्कृष्ट विकल्प हो भन्ने मेरो दाबी छैन, तर एनआरएनएको प्रकृति र दायित्व दुबै बुझेको र वहन गर्नसक्ने व्यक्ति भने उहाँ पक्का हो । प्रत्यक्ष राजनैतिक संलग्नता पनि उहाँको देखिन्न । आर्थिक-सामाजिक रूपले उहाँको चरित्र निष्कलङ्क छ । शायद उहाँको जति लामो समाजसेवाको इतिहास पनि हामीमध्ये कमैको छ । लाग्यो, उहाँ धेरैअघि नै अध्यक्ष भइसक्नुपर्ने, शायद अरूलाई अघि बढाउँदा बढाउँदै उहाँ पछि छुट्नुभो ।
यसपालि मेरो मनले यस्तै भन्यो र दुई राम्रामध्ये एक राम्रोलाई चुन्यो । लाग्यो, यही नै न्यायपूर्ण हुन्छ । दुबैलाई छान्ने विकल्प थिएन ।
आज बेलायती नेपाली समाजको कित्ताकाट भएको धेरैलाई अनुभव भएको छ । हिजो सँगै हिँडेका साथीहरू आज दुई किनारमा बाँडिएका छन् र नजर जुधाउन अनकनाइरहेछन् । यसमा पर्दा पछाडि बसेर गोटी चाल्ने केही सीमित व्यक्तिहरू रमाइरहेका होलान्, तर सिङ्गो समाज भने असमञ्जसमा छ । यो पराइको शहर होइन । यसका अनुहार सबै आफन्तकै हुन् । र, पनि आज एकअर्काको अनुहारमा आफ्नोपन अस्ताएजस्तो देखिन्छ । दुई शत्रु देशका नागरिकले झैँ एकले अर्कोलाई शङ्काको नजरले हेरिरहेछन् । कति छिटै र सजिलै मान्छेले मान्छेलाई पराया सोच्न सक्ने रहेछ, म छक्क छु !
तर, एउटा निर्वाचन नै पूर्णविराम होइन भन्ने मलाई थाहा छ । हामीलाई एउटा निर्वाचनले टुक्ऱ्याउन सक्दैन । एनआरएनएको उद्देश्य नै जोड्नु हो । यो विजय या पराजयको खेल होइन, भोलि काम गर्न सबैको हात र सबैको साथ चाहिन्छ । कुनै एउटा समुदाय या वर्गलाई पर राखेर या निषेध गरेर हामीले जिते नै पनि के हासिल गर्न सकौंला र ?
हामी अहिले फाटेको जस्तो देखिए पनि बाँडिएका छैनौं । बाँडिन सक्दैनौं । हाम्रो कित्ता यही हो, भित्ता यही हो । एक बित्ता पनि टाढा जाने छुट हामीलाई छैन । हामी त्यति क्षुद्र बन्न सक्दैनौं जसको मन एउटा ब्यालेट पेपरले सधैँलाई छिनालोस् ! जिन्दगी आफैमा चुनाब हो । भोलि फेरि अर्को चुनाब आउनेछ, जहाँ हामी एउटै लाइनमा उभिएका हुनेछौं ! आज मैले भोट दिन नसकेका र मलाई भोट दिन नसकेकाले भोलि एकआपसलाई चुन्ने दिन पनि आउँछ । त्यो दिन ओठमा खुशी सापट माग्न नपरोस् भन्ने ख्याल हामीमा हुनुपर्छ ।
सबै उम्मेद्वारहरूमा शुभकामना छ ।