काठमाडौँ — काठमाडौँ ३ बौद्ध स्थित रोपाई जात्रा सम्पन्न भएको छ। गाई जात्राको भोलि पल्ट मनाइने यो जात्रा बौद्ध स्तुपामा मनाइने महत्वपूर्ण जात्रा मानिन्छ। प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य एवं संघीय सांसद कृष्ण राईले संकृति र परम्पराको संरक्षण सबैको जिम्मेबारी भएको बताए। यसपटक पनि विभिन्न सांस्कृतिक प्रस्तुतिलाई हौस्याउन समितिले चैत्य परिसरभित्रै प्रतिस्पर्धात्मक कार्यक्रम गरियो । विजेता समूहलाई प्रमुख अतिथि संघीय सांसद कृष्ण राईले पुरस्कार हस्तान्तरण गरे ।
धिमे र भुस्याको ताल पछ्याउँदै रोपारहरू सडकमा निस्के । उनीहरूको हातमा धानको हरियो बीउ लहलह देखिन्छ । अघिअघि बाउसेहरू कोदाली बोकेर आली सम्याएझैं नाटक गर्न थाले । त्यसपछि रोपारहरू सडकमै धान रोप्न थाले ।
शनिबार सिमसिम पानी पर्दै गर्दा राजधानीको बौद्ध चैत्य परिसरमा यस्तो रोचक दृश्य देखियो । हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धबासीले मनाउँदै आएको ‘रोपाइँ’ जात्राको अर्कोरोचक दृश्य त के भने, जात्रामा नेवार र तामाङ समुदायको सरोवरी थिए । नेवार समुदायबाटै सुरु भएको मानिने यो जात्रा बौद्धमा भने तामाङ समुदायले पनि साथ दिँदै आएको छ । बौद्धमा तामाङ समुदायको पर्वमा पनि नेवार समुदायको साथ सहयोग रहँदै आएको छ ।
यसपटक भने खास्ती नेवाः पुचःको पहलमा भक्तपुर र कीर्तिपुरबाट लठ्ठी बजाउँदै प्रस्तुत गरिने ‘घिन्ताङघिसी’ नाच टोली पनि निम्त्याइएका थिए । उनीहरूले धिमेको तालमा ‘घिन्ताङघिसी’ प्रस्तुत गर्दा चैत्य आसपास र बाहिर सडकमा जात्रालुहरूको भीड बढेर हिँडडुल गर्न मुस्किल परेको थियो । मान्छे नै गोरु बन्दै हलो–जुवा नारेर सडकमा निस्किँदाको दृश्य जति रोचक थियो, ढ्यांग्रो बजाउँदै तामाङ बोन्बो नाच्दा पनि उत्तिकै रौनक थपिएको थियो ।
चैत्य परिसरमा जात्रालु केटा र केटी समूहमा विभाजित भएर तामाङ फाफरे व्हाई ९गीत० मार्फत् दोहोरी खेलेका थिए । उनीहरूले गाएको सेलो दोहोरी हेर्न मानिस छाता ओडेरै जम्मा भएका थिए । भीडमा अनेक हास्य मुकुण्डोधारी मान्छेहरूले बेलाबेला छक्याउने र तर्साउने जस्ता गतिविधि गरेर पनि जात्रालाई रमाइलो पारेका थिए । हरेक वर्ष समितिले जात्रालाई प्रभावकारी बनाउन व्यवस्थापन समिति नै बनाएर काम गर्दै आएको छ ।