२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

भारतमा ९३ लाख ट्रक हड्तालमा, नेपालको ढुवानी समेत प्रभावित हुनसक्ने

1438 Shares

काठमाडौं । विश्वकै ठूलो लोकतान्त्रिक देश भनेर दावी गर्ने भारतमा आज ९३ लाख ट्रक हड्तालमा उत्रिएका छन् । भारतमा बढ्दो डिजेलको मूल्य घटाउन तथा टोलको शुल्क घटाउन माग गर्दै गत मे देखि आन्दोलनरत ट्रक व्यवसाय सम्बद्ध नेताहरुले आज शुक्रबारदेखि हड्तालको घोषणा गरेका हुन् । ट्रक हड्तालमा भारतभरिका ९३ लाख ट्रक सहभागी भएको जनाइएको छ । हड्तालको कारण देशैभरिको ढुवानी सेवा ठप्प भएको छ भने सडक किनारामा रित्ता ट्रकहरु लामबद्ध गरिएका छन् ।

भारत सरकारको संघीय यातायात मन्त्री नितिश गडकरीले ट्रक व्यवसायीसँगको हरेक वार्ताहरु असफल भएको जनाएका छन् । हिन्दुस्तान टाईम्सका अनुसार ट्रक व्यवसायीहरुले नयाँ लागू गरिएको जिएसटी कानुनले बढाएको सबै प्रकारको कर हटाउनुपर्ने, डिजेलको मूल्यबृद्धि हटाउनु पर्ने र सडकमा लगाइएको महंगो टोल घटाउनुपर्ने माग अघि सारेका छन् । त्यस्तै तेस्रो पक्ष बिमाको प्रिमियम घटाउनुपर्ने, दशैभरिका ट्रकहरुले आज विहान ६ः०० बजेदेखि लोड गर्न बन्द गरेको जनाइएको छ । यसबाट भारतमा दैनिक चार खर्ब रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।

ट्रकको आन्दोलनमा भारत महाराष्ट्रका विद्यालय बस तथा निजि सवारीले समेत साथ दिने घोषणा गरेका छन् । स्कूल बस तथा प्राइभेट बस वनर एशोसिएशनमा आबद्ध करिब ४० हजार त्यस्ता बसहरु समेत ठप्प पारिएको छ । सन् १९३६ मा स्थापना भएको अल इण्डिया मोटर ट्रान्सपोर्ट कंग्रेस नामक यातायात सम्बद्ध संस्थामा भारतका ९३ लाख ट्रक व्यवसायी आबद्ध छन् । यो विश्वकै ठूलो यातायात कम्पनी मानिन्छ ।

भारतमा ट्रक हड्तालपछि त्यसको प्रत्यक्ष असर नेपालमा समेत पर्ने देखिएको छ । नेपालमा कैयौं सामानहरु भारतको स्थलमार्ग हुँदै ढुवानी गरेर नेपाल ल्याउने गरिएको छ ।

प्रतिक्रिया