नेपाली सिनेमा क्षेत्रमा महानायक राजेश हमालको लोकप्रियता अझै पनि उति नै छ । केही समय यता उनी सिनेमाको पर्दामा देखिएका छैनन् ।तथापी उनको जनतामाझ लोकप्रियता भने अहिलेका चर्चित नायकहरुको भन्दा पनि बढि छ । राजेश हमाल नेपाली सिनेमा क्षेत्रका एक मात्र यस्ता नायक हुन जसलाई पहाडी , हिमालदेखि तराईका दर्शकहरुले समेत राम्रोसंग चिन्छन् । पछिल्लो पटक अभिनय गरेको फिल्म सकुन्तला र बाग्मती असफल भएपछि उनी पर्दामा आउँन चाहिरहेका छैनन् । उनै महानायकको लोकप्रियता नै देखेर भारतीय मिडियामा समेत महानायकको चर्चा हुन थालेको छ। हुन त पछिल्लो केही समययता भारतीय मिडियाहरुले हलिउडका बारेमा लेखे जस्तै नेपाली सिनेमा र नेपाली कलाकारहरुको बारेमा पनि समाचारहरु लेख्दै आईरहेका छन् ।

यसबीचमा भारतको चर्चित मिडिया आजतकले महानायक राजेश हमाललाई बलिउडका अमिताभ बच्चनसंग दाँजेको छ । आजतकले लेखेको छ “नेपाली सिनेमाका राजेश हमाल भारतीयहरुका लागि परिचित अनुहार होईन तर राजेश हमाल नेपालको एक यस्तो सुपरस्टार हुन जसलाई महानायकको उपाधी दिईएको छ । ५५ बर्षको उमेरमा पनि त्यहाँ उनको लोकप्रियता ठ्याक्कै त्यस्तै छ जस्तो भारतमा अमिताभ बच्चन र सारुख जस्ता कलाकारहरुको छ”। आजतकले राजेश हमालले पाएको सफलता सहज नभएको , उनका बुवा चुडा बहादुर हमाल कडा स्वभावको भएकोले अभियनमा लाग्न प्रेरित नगरेको जस्ता कुराहरु पनि लेखेको छ ।

सन् १९८८ मा आएको फिल्म “युगदेखि युगसम्म” बाट राजेशले डेब्यु गरेको उल्लेख गर्दै आजतकले उनका चर्चित फिल्महरुको नाम समेत उल्लेख गर्दै दर्शकहरुमाझ आफनो अभिनयले जादु छरेको समेत लेखेको छ । उसले राजेशलाई आफनो कपाल निकै प्रिय भएको कारणले आफनो बुवाको किरियामा समेत पराम्परा अनुसार कपाल काट्ने काम पनि नगरेको लेखेको छ। साथै आजतकले राजेशले आफुभन्दा २२ बर्ष कान्छी मधु भट्टराईसंग प्रेम बिवाह गरेको र उनीहरुको बिवाह र जोडी अन्य जोडीहरुका लागि आर्दश बनेको समेत उल्लेख गरेको छ। आजतकमा प्रिया शांडिल्यले राजेश हमालको बारेमा समाचार लेखेकी हुन् ।



