काठमाडौं – चलचित्र निर्माता एवं निर्देशक छविराज ओझाले आफ्नो घर आउन पत्नी एवं नायिका शिल्पा पोखरेललाई आग्रह गरेका छन्।
आफू घरेलु हिंसामा परेको भन्दै शिल्पाले गत साता छविविवरुद्ध महानगरीय प्रहरी परिसर (टेकु)मा उजुरी दिएकी थिइन्। सो क्रममा छविले माफी मागेका थिए भने शिल्पाले अब आफू अदालत जाने बताएकी थिइन्।
त्यसको केही दिनपछि शिल्पाले अदालतमा मुद्धा दर्ता गर्ने विषयमा वकिलसँग छलफल गरिरहेको चाल पाएपछि छविले फेसबुकमा उनको नाममा एउटा स्टाटस राखेका छन्।
उनले लेखेका छन्, ‘यदि तपाईं मेरो बूढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि गान्धीवादी बनेर बस्न सक्छु।’
छविले शिल्पाका लागि आफ्नो घरको ढोका सधैँ खुला रहेको बताएका छन्।
आफूले शिल्पालाई ३ दिनदेखि फोन गरेको बताउँदै उनले लेखेका छन्, ‘म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन। छवि ओझाको अदालतमा सिधै आउनुस्, तपाईंले न्याय पाउनु हुन्छ।’
उनले लेखेको स्टाटस
शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।