२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रतिमा कुमार फाउन्डेसनले हरेक बर्ष एकजना बेसहारा तर जेहेन्दार बिद्यार्थी पढाउँने

23336 Shares
Spread the love

लण्डन । बेलायतको रेडिंगमा त्यस क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरु, बिभिन्न संघसंस्थाका प्रमुखहरु र सामाजिक अभियन्ताहरुको उपस्थितिमा प्रतिमा कुमार फाउन्डेसन गठनको औपचारिक घोषणा गरिएको छ ।

फाउन्डेसनका निर्देशक कुमार केसीका अनुसार फाउन्डेसनले हरेक बर्ष जन्मभूमिमा कुनै माध्यमिक बिद्यालय तहमा अध्ययन गर्ने बेसहारा तर जेहेन्दार कम्तिमा एक जना विद्यार्थीलाई पठनपाठनमा पूर्ण  सहयोग गर्ने सामान्य उद्धेश्य रहेको कुरा सार्बजनिक गरेका हुन् । प्रतिमा केसीको हालै प्रकासित कबिता संग्रह पानीको बिद्रोहको परिचर्चा तथा  बेलायतका सर्जकहरुको संयुक्त सांगीतिक एल्बम संयोगको लोकार्पण कार्यक्रम आयोजना गरेको  फाउन्डेसनले यस बर्ष रुपन्देही जिल्लाको पशुपति माबि र गंजेडी माविका एक एक जना  छात्राहरुलाइ पठनपाठनको लागी आबश्यक सहयोग गर्ने कुरा बताएका छन् ।


उक्त कार्यक्रममा डा. दुबसु क्षेत्रीद्वारा हालै विमोचित प्रतिमा केसीको कबिता संग्रह पानीको बिद्रोहको समीक्षा  गर्दै बेलायत नेपाल प्राज्ञिक परिषदका अध्यक्ष्य तथा अक्सफोर्ड बिश्वबिद्यालयका अनुसन्धाता डा. कृष्ण प्रसाद अधिकारीले यो प्रबासमा जन्मिएको एउटा  उत्कृट साहित्यिक कृति हो यसले परदेशी जीबन, नारी चेतना, नेपाली समाज र समाजमा घट्ने बिबिध घटनाहरुलाइ सरल शब्दहरुको माध्ययमबाट गहन रुपमा उठाएको कुरा बताए । उनले थपे- कबिले यस संग्रहमा नारीबादी धारलाई समातेको कुरा प्रस्ट देख्न सकिन्छ ।

पुस्तकको बारेमा साहित्य संगम युकेका संयोजक बिनोद अधिकारी, वातावरण साहित्यकार विजय हितान, प्रा. नारायण गुरुङ, गीतकार नारायण कंडेल र नेपालमा शिक्षा क्षेत्रमा लामो समय काम गरेका धीरज कायस्थले परिचर्चा गर्दै कृतिमा प्रयोग भएका बिम्ब, रस र यसले बोकेको चेतना र संरचनागत बिबिध पक्षमा समिक्षा गरेका थिए । धीरज कायस्थले कृतिमा रहेका कविताका सबै कविताको शिर्षकलाई समेटेर बिषयसुची शिर्षकमा बनाएको कविताको निकै चर्चा भएको थियो ।

कार्यक्रमको अर्को आकर्षणको रुपमा बेलायतका सर्जकहरु प्रतिमा केसी, रमेश कायस्थ, कुमार केसी, यादब श्रेष्ठ, कृष्ण आचार्य र नारायण कंडेलको शब्द र रमेश कायस्थको एकल संगीत रहेको सांगीतिक एल्बमको प्रमुख अतिथी डा. कृष्ण अधिकारी, प्रा. नारायण गुरुङ, साहित्य संगमका संयोजक बिनोद अधिकारी, धिरज कायस्थ र पुर्णदेबी कायस्थले संयुक्त रुपमा बिमोचन गरेका थिए । उक्त एल्बममा नेपालका चर्चित गायकहरु प्रमोद खरेल, अन्जु पन्त, राज सिग्देल, राजेश पायल राई, मेलिना राई र विश्व नेपालीको स्वर रहेको कुरा संगीतकार रमेश कायस्थले बताए ।

जनता प्रकासन तथा प्रसारणले प्रकासित गरेको उक्त कृतिका बारे नेपाली साहित्यका बरिस्ठ प्रगतिवादी साहित्यकार मोदनाथ ‘प्रश्रित’ ले भूमिका लेखेको सो कृतिमा डा. दुबसू क्षेत्रीले शुभकामना मन्तब्य लेखेका छन । साहित्यकार डा. रुपक श्रेष्ठ, लक्ष्मी राइ (लारा), दुर्गा प्रसाद पोख्रेल तथा बिनोद अधिकारीले संक्षिप्त शुभकामना भनाइ लेखेको उक्त कृतिमा अक्सफोर्ड बिश्वोबिध्यालयका अनुसन्धाता डा. कृष्ण प्रसाद अधिकारी, वातावरण साहित्यकार विजय हितान र समालोचक बासु शर्माले समेत समालोचनात्मक टिप्पणी लेखेका छन् ।

कार्यक्रममा बेडफोर्डसायर युनिभर्सिटीका प्रोफेसर डा. कृष्ण राज रेग्मी, सामाजिक अभियन्ता विश्व आदर्श पण्डित, रेडिंग नेपाली समाजका अध्यक्ष्य टेक बहादुर गुरुङ, यादव श्रेष्ठ, भीमसेन खड्का, समाजका महासचिब ओमकार अधिकारी, अर्जुन बस्नेत, कृष्ण आचार्य र सुबास दाहालले शुभकामना तथा बधाई मन्तब्य राखेका थिए ।

साहित्य सृजनालाइ नेपालमा कल्याणकारी काम र निर्माणसंग जोड्नु पर्छ भन्ने मान्यता राख्ने साहित्यकार प्रतिमा केसीले वि सं २०७२ सालमा नेपालमा विनासकारी भूकम्प गएको बेला उत्प्रेरणा जगाउने खालको “हिम्मत” भन्ने म्युजिक भिडियो बजारमा ल्याएका थिए । त्यसबाट जम्मा भएको सम्पूर्ण रकमबाट गोरखाको बिकट गाउँ आरु आर्बांगमा दीपज्योती प्राथमिक बिद्यालयको दुइकोठे भवन निर्माण गर्न सहयोग गरेकी थिईन । त्यसै गरी यस कबिता संग्रहबाट हुने आन्दानीबाट रुपन्देही जिल्लाको दुइवटा माबीका एक एक जेहेन्दार छात्रालाई माध्यमिक तहसम्म पठनपाठनको लागी प्रतिमा कुमार फाउन्डेसन मार्फत सहयोग गर्ने कुरा सार्बजनिक गरेका छन् । उक्त कार्यक्रमबाट रेडिंगमा सोही दिन मात्र ५२५ पाउण्ड संकलन भएको छ ।

रमेश कायस्थको संचालन र प्रतिमा कुमार फाउन्डेसनका अध्यक्ष्य प्रतिमा केसीको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा फाउन्डेसनका निर्देशक कुमार केसीले स्वागत मन्तब्य तथा फाउन्डेसन बारे प्रकास परेका थिए । स्मरणीय कुरा के थियो भने कार्यक्रमका लागी चिया नास्ता, खाना, कार्यक्रम हल, पिउने पानी लगायतका सबै खर्चहरु रेडिंगका मनकारी महानुभाबहरुले सौजन्य गरेका थिए ।

प्रतिक्रिया