मलेसिया । मलेसियामा रहेको नेपाली राजदूतावासले नेपालीहरूलाई मलेसियामा कार्यक्रम आयोजना गर्दा सचेतना अपनाउन आग्रह गरेको छ । विभिन्न धार्मिक तथा सांस्कृतिक महोत्सवको बिदाको अवसरमा नेपालबाट कलाकारलाई निमन्त्रणा गरेर कार्यक्रमहरूको आयोजना गर्दा सचेतना अपनाउन आग्रह गरेको हो ।
दूतावासले एक विज्ञप्ति निकाल्दै कार्यक्रम आयोजना गर्ने संस्था वा व्यक्तिले स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर मात्रै कार्यक्रमको आयोजना गर्न र प्रक्रिया पूरा गरेको जानकारी राजदूतावासमा दिन आग्रह गरेको छ ।
त्यसैगरि कार्यक्रम गर्दा स्थानीय भाषा, धर्म र संस्कृतिलाई विशेष ध्यान दिन र त्यस विपरित कुनै गतिविधि नर्गन सचेत गराएको छ । त्यस्तै मलेसियामा कार्यक्रमको लागि नेपालबाट आउने कलाकारहरूलाई सम्बन्धित भिसा प्राप्त गरेपछि मात्रै सहभागि हुन अनुरोध गरेको छ ।
केहीहप्ता अघिमात्रै सांगीतिक कार्यक्रमका लागि भनी मलेसिया आएका तीन कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो।
‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा मलेसिया बोलाइएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक पक्राउ परेका थिए ।
उनीहरूमथि अध्यागमन कानुन उल्लङ्घन गरेको आरोप छ । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयास्थित अध्यागमनको हिरासतमा राखिएको छ । पक्राउ परेका मध्ये मलेसियामै कार्यरत रहेका केही रिहा भएका छन् ।
