काठमाडौं । चर्चित हाँस्य कलाकार जितु नेपालको आज जन्मदिन । उनलाई सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना र बधाई दिनेहरु व्यापक छ ।
जितुले पनि आफ्नो नेपाली क्यालेण्डरअनुसार आफ्नो जन्मदिन आज भएको फेसबुकमार्फत सबैलाई जानकारी गराएका छन् । उनले आफ्नो जन्मदिन आज भएको भन्दै आजै जन्मदिन परेका सबैलाई शुभकामना पनि भनेका छन् ।
उनलाई अर्का हाँस्य कलाकार मनोज गजुरेलले फरक शैलीमा शुभकामना दिएका छन् । जितुलाई मनोजले भाञ्जा भनेर सम्बोधन गरेका छन् । मनोजले फेसबुकमा लेखेका छन्(जीतु भाञ्जा, जीवनमा सधैं जीत होस । हाँस्ने र हँसाउने कर्म निरन्तर होस । जय जन्म, जय जननी, जय जिन्दगानी ।
जितु नेपालको जन्म २०३२ असार १ गते भएको हो । उनी नेपालका एक चर्चित हाँस्य कलाकार तथा अभिनेता हुन् । उनलाई मुन्द्रे भनेर पनि चिनिन्छ। उनले हाँस्य टेलिश्रिङ्खला मार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्छन्। जितु नेपालले ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट चलचित्र जीवनको सुरुवात गरेका हुन्। त्यसपछि जितु नेपालले करिब तीन दर्जन चलचित्रमा अभिनय पनि गरिसकेका छन् तर उनलाई चलचित्रप्रति त्यति मोह छैन।
उनलाई हाल दर्शकसामु मुन्द्रे भनेर चिनाउने टेलिश्रिङ्खला भने जिरे खुर्सानी हो। जितु नेपाल र शिवहरि पौडेलले जिरे खुर्सानी टेलिश्रिङ्खला सन् २००३ देखि नेपाल टेलिभिजनबाट सन्चालनमा ल्याएका थिए ।
जितुको २०५९ फागुन १३ गते मुना नेपालसंग मागी बिहे भएको हो । उनको बिहेमा तुलसी घिमिरे, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौलाजस्ता अरु थुप्रै चर्चित कलाकारहरूको उपस्थिति थियो । जितु र मुना नेपालका छोरी समृद्धि र छोरा सक्षम छन्।