लण्डन । पोखरेली मञ्च युकेले पीपल चौंथो नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
गत शुक्रबार १४ जुन साँझ फार्नबोरो नर्थक्याम्पस्थित पीपल मोर्गेजेज् एण्ड स्टेट एजेन्टस्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजक पोखरेली मञ्च युकेले सो जानकारी गराएको हो ।
उक्त खेल रेडिङस्थित रेडिङ्ग क्रिकेट एण्ड हक्की क्लबमा आगामी जुलाईको १४ तारिख बिहान १० बजे शुरु हुनेछ भने २१ जुलाईका दिन फाईनेल खेल सम्पन्न हुनेछ ।
नकआउट प्रणलीमा सञ्चालन हुने खेलका लागि १२ वटा टिमले आवेदन दिएको भए पनि खेल दुई दिनमा सम्पन्न गर्नुपर्ने भएकोले ८ वटा टिमलाई मात्र दर्ता गरिएको मञ्चका उपाध्यक्ष एवं टुर्नामेन्ट संयोजक करम गुरुङले जानकारी दिए ।
उनले सो प्रतियोगिता सम्पन्न गर्नका लागि पीपल मोर्गेजेज् एण्ड स्टेट एजेन्टस्ले मुख्य प्रायोजनको रुपमा १००० पाउण्ड आर्थिक सहयोग गर्ने भएको छ । त्यस्तै, पहिलो पुरस्कार नगद ८०० पाउण्ड, मेडल र प्रमाणपत्र बगर भाइखलक युकेका अध्यक्ष चन्द्रमान गुरुङ र सदस्यहरुले, दोस्रो पुरस्कार नगद ५०० पाउण्ड, मेडल र प्रमाणपत्र सिटी एक्सप्रेस मनी ट्रान्सफर लिमिटेडले प्रायोजन गर्ने छ ।
करीब ५०० जना दर्शकको उपस्थिति रहने अपेक्षा राखिएको प्रतियोगिताका स्टार अफ दि टुर्नामेन्टलाई नमस्कार एभेन्ट तथा आश्विन श्रेष्ठले १५० पाउण्ड, मेडल र प्रमाणपत्र प्रायोजन गर्नेछ । त्यस्तै, वेष्ट बलरलाई १०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र र डि एण्ड जे हिटिङ्ग सर्भिसेस्का धनु थकाली तथा जगन गुरुङले वेष्ट व्याटमेनलाई १०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र प्रायोजन गर्ने संयोजक गुरुङले जानकारी दिए ।

पोखरेली मञ्च युकेले चौंथोपटक आयोजना गर्न लागेको टुर्नामेन्टमा राफल ड्र समेत खेलाईने छ । उक्त राफल ड्र विजेतालाई एकतोला सुन उपहार राखिएको छ ।
टिम दर्ता शुल्क १५० निर्धारण गरिउको टुर्नामेन्टमा साधारणतर्फ प्रवेश निःशुल्क गरिने र भिआईपीतर्फ भने खानासहित २५ पाउण्ड तोकिएको छ ।
खेल उद्घाटनका लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र समापनका लागि एनआरएनए युके अध्यक्ष योगकुमार फगामीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको आयोजकले जानकारी दिए।
त्यस्तै, खेलाडी, आयोजक र दर्शकको सुविधाका लागि अल्डरसटस्थित मोमो स्टेशनले फुड स्टल राखिनेछ ।
हेल्थ एण्ड सेफ्टीलाई समेत बिशेष ध्यान दिइएको खेलमा विन्चेस्टर क्रिकेट क्लब, नवयुवा टिम, रमाईलो क्रिकेट क्लव, हन्स्लो क्रिकेट क्लव, मिड्ल्याण्ड क्रिकेट क्लव र क्यूजी सिग्नल क्रिकेट क्लव सहभागी हुनेछन् ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक पीपल ग्रुपका डाईरेक्टर सूर्यप्रकाश गुरुङले एकअर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिदैं शुभकामना दिए । त्यस्तै, मञ्चका संस्थापक अध्यक्ष क्याप्टेन सिबी पुन, सल्लाहकार महेश गुरुङ, मोमो स्टेशनका अमित गुरुङ लगायतले समेत शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा मञ्चका अध्यक्ष मान प्रसाद गुरुङले टुर्नामेन्टको आयोजनाले खेलाडिहरुको क्षमतामा बिकास हुने, एकअर्कामा चिनजान हुने, इन्ट्रीग्रेशन हुने र एकअर्कालाई एकताको सुत्रमा बाँध्ने बताउदै उत्कृष्ट खेलाडिहरुलाई नेपालको टिमसंग खेलाइने योजना समेत रहेको बताए ।