काठमाडौँ । १२ वर्षदेखि साउदीको एक जेलमा रहेका एक नेपाली युवालाई स्थानीय कानुनअनुसार मृत्युदण्डको सजाय फैसला भएको छ।
आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्डको सजाय सुनाएको हो। दाहाल जुवेलस्थित हायल जेलमा छन्। मृत्युदण्ड पाएका युवा उदयपुरको बसाहा–७, बैकडाँडाका हुन्। दाहालमाथि बबियाबिर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेको अभियोग लागेको हो।
दाहालको जीवनरक्षाको लागि साउदीस्थित नेपाली राजदूतावासले निजी कानुनअनुसार पीडित पक्षलाई ‘ब्लडमनी’ रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो । पुनरावेदनका तीन न्यायाधीशको संयुक्त इजलासले मृत्युदण्डको फैसला सुनाएको हो ।
दाहाल, विष्ट र एक जना सुडानी जुवेलको मरुभूमिमा ऊँट गोठाला थिए । विष्ट दाहालका नातेदार पनि हुन् । विष्ट र सुडानी राति सुतिरहेका बेला दाहालबाट आक्रमण भएको मिसिलमा उल्लेख छ । आक्रमण हुनेबित्तिकै विष्टको ज्यान गएको थियो ।
पीडित पक्षले पीडकलाई माफी दिइसकेको पत्र दूतावासले अदालतलाई बुझाएको थियो । यो केसमा न्यायाधीशले निजी कानुनभन्दा बढी सार्वजनिक कानुनअनुसार फैसला गरेको देखिएको छ । पुनरावेदन अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा निवेदन दिएको दूतावासले जनाएको छ ।
यो घटनाको बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले झन्डै १३ वर्ष जेलमा बसिसकेको र पीडित पक्षले माफी दिइसकेको हुँदा दाहाललाई माफी दिन साउदीका राजासमक्ष पत्र पठाइसकेकी छन्। उक्त पत्र साउदीको परराष्ट्र मन्त्रालयमा दूतावासले बुझाइसकेको छ ।