काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु गरेको छ।
गैर आवासीय नेपाली संघका अध्यक्ष भुवन भट्टले आईतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सो कार्ड वितरण कार्यको शुभारम्भ गरेका हुन्। एनआरएनएमा आवद्ध सदस्य तथा उनीसँग सम्बन्धित नागरिकहरुलाई विपद् परेका बेला आर्थिक सहायता उपलब्ध गराउन सो कार्ड वितरण कार्यको सुरुवात गरिएको अध्यक्ष भट्टले जानकारी दिए।
सो कार्डको वितरणबाट एनआरएनएहरुलाई होटल, ट्राभल ऐजेन्सीलगायतका सेवा प्रदायक संस्थाहरुबाट सहुलियतको व्यवस्था पनि गर्न लागिएको एनआरएनले जनाएको छ। दुई वर्षसम्म नविकरण गर्न नपर्ने सो कार्डका लागि १ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। यसरी जम्मा भएको सबै रकम विपद् व्यवस्थापनको क्षेत्रमा खर्च हुने पनि अध्यक्ष भट्टले बताए।
हाल एनआरएनएमा करिव ७० हजार सदस्यहरु आवद्ध रहेका छन्। उनीहरुलाई सो कार्ड वितरण गर्दा जम्मा हुने रकम विपद् व्यवस्थापनका लागि तत्काल उपयोगमा ल्याउन सहज हुने जानकारी दिइएको छ।