लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुन लागेको बेलायत भ्रमणबारे गोर्खा भूतपूर्व सैनिक संगठनहरुबीच मतभेद देखिएको छ । ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको समानताको आन्दोलन गर्दै आएको सत्याग्रह संयुक्त संघर्ष समितिले प्रधानमन्त्री ओलीको बेलायत भ्रमणमा विरोध जनाउने भएको आरोप लगाउदै गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले भने स्वागत गर्ने बताएको छ ।
गेसोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन नै गर्दै प्रधानमन्त्री ओलीको बेलायत भ्रमणका मौकामा गोर्खाहरुले उठाउँदै आएको मागबारे एजेण्डा बनाउन प्रयास गरिरहेको दाबी गरेको छ ।
प्रधानमन्त्री ओलीको बेलायत भ्रमणका बेलामा आफ्ना मागबारे कुटनीतिक पहलका लागि तयारी गरिरहेको गेसोका अध्यक्ष कृष्णकुमार राईले बताए । आवश्यक आन्तरिक तयारीका लागि अध्यक्ष राई यसै साता बेलायत आइपुगेका छन् ।
सत्याग्रहले गोर्खा भर्तीविरुद्ध अभियान, गोर्खा भर्तीको तालिम सेन्टरहरु बन्दका लागि पत्राचार, ब्रिटिश गोर्खा क्याम्पमा तालाबन्दी, बेग्लै गोर्खा राज्यको माग्ने, सधैंका लागि वार्ता भंग गर्ने जस्ता कार्यक्रमहरु घोषणा गरेको भन्दै गेसोले त्यसको विरोध जनाएको छ ।
त्यसैगरी, प्रधानमन्त्री ओलीको बेलायत भ्रमण कालो झण्डा देखाउने, भूमिगत हुने, सशस्त्र आन्दोलन गर्नेजस्ता चेतावनीका समाचार आएको भन्दै गेसोले त्यसको विरोध जनाएको हो ।
अझै पनि वार्ता र संवादको ढोका खुला रहेको भन्दै गेसोका अध्यक्ष राईले प्रधानमन्त्री ओलीको भ्रमणले थप कुटनीतिक पहल हुने अपेक्षा गरेको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको आसन्न बेलायत भ्रमणमा पनि गोर्खाको विषय गम्भीरताको साथ उठ्ने हाम्रो गहिरो विश्वास छ’, गेसोको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
हाम्रो आन्दोलनको कुनै कार्येक्रम छैन : सत्याग्रह संयुक्त संघर्ष समिति
बृटिश गोर्खालाई बेलायतीसरह समान सुविधा दिनुपर्ने माग गर्दै बेलायतमा आन्दोलन गर्दै आएको गोरखा सत्याग्रहका निर्देशक ज्ञानराज राईले आफ्ना मागहरु बेलायती प्रधानमन्त्रीको कार्यालयमा पहिला नै पनि बुझाइसकेको बताउदै छौं । नेपालका प्रधानमन्त्री आएको बेलामा सो सम्बन्धी कुरा उहाँले राखेर अहिलेसम्मको विभेद अन्त्य गर्नुहुने अपेक्षा गरेका बताए ।’’
उनले अगाडी भने ‘‘राजदूतले प्रधानमन्त्रीको भेटघाटको एजेण्डामा गोरखा विषयलाई १ वा २ नम्बरमा नै प्राथमिकताका साथ राख्ने वचन दिनुभएको छ ।’’ गोरखा सत्याग्रहका तर्फबाट गएको महिना बेलायती संसद र प्रधानमन्त्रीको कार्यालय अघि गोरखामाथिको विभेद अन्त्यको माग गर्दै प्रदर्शन पनि गरिएको थियो ।
‘‘प्रधानमन्त्रीको भ्रमणका क्रममा हामीले आफ्ना समश्या समाधान हुने अपेक्षा गरेका छौं । तर, बेलायतका प्रधानमन्त्रीले राजीनामा दिएका कारण प्रधानमन्त्रीसँग हाम्रा प्रधानमन्त्रीले गर्ने कुरा कति प्रभावकारी हुन्छ भनेर हामीलाई शंका लागेको छ ’’ निर्देशक राईले भने ।