लण्डन । बेलायतबाट सञ्चालित ट्वान्टी फोर न्यूज प्रेस अनलाइनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा एनआरएन बहस आयोजना गर्ने भएको छ ।
मंगलबार साँझ लण्डनमा एक प्रेस मिट गर्दै आयोजकले एनआरएन र भूतपूर्वगोर्खाका चासोका विषयहरुमा आउँदो शनिबार अल्डरसटमा एक बहस कार्यक्रम गर्ने र उक्त अवसरमा एनआरएन अभियानमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको बताएका छन् ।
ट्वान्टीफोरन्यूजप्रेसका अध्यक्ष विनय अधिकारीले बहस कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी ,गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीसहितका अभियन्ताहरुको सहभागिता रहने बताए । सो कार्यक्रमका भाग लिन नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट,नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल , एपि वान टेलिभिजनका प्रबन्धक विकास लामिछाने, समाचार प्रमुख टिकाराम यात्री र रिपोर्टर मोहराज शर्मा पनि अहिले लण्डन आइसकेका छन् ।
गैरआवासीय नेपालीका चासो तथा सरोकारका विषय लाई ‘हाइलाइट’ गर्ने उद्धेश्यले बहस कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ । प्रेस मिट कार्यक्रममा ट्वान्टीफोरन्यूजप्रेसका अध्यक्ष विनय अधिकारी, युरोप सम्पादक खेमराज रानाभाट र बेलायत सम्पादक खुशी लिम्बूले कार्यक्रमको अवधारणा र तयारीबारे विभिन्न जानकारी गराएका थिए ।
त्यसअवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट,नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल , नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी, नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौला एनआरएन यूकेका केन्द्रीय कार्यसमिति सदस्य राजन खकुरेलले कार्यक्रम सफलताको लागि शुभकामना दिएका थिए ।