अभिनेत्री स्वेता खड्काले आफूले दोस्रो जीवन पाएको बताएकी छन्। दोस्रो पटक आफूसँग जीवनले खेल खेलेको बताउँदै उनले दुःख व्यक्त गरेकी छन्।
घाँटीमा रहेको ट्युमरको सफल सल्यक्रियापछि स्वेताले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोस्ट गर्दै भनेकी छन्, ‘जीवन अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ।’
फिल्म ‘हेल्लो जिन्दगी’को सुटिङका लागि लन्डनमा रहेका बेला अस्वस्थ भएपछि उनलाई एकाएक दिल्ली ल्याइएको थियो। अब आफूले फिल्मलाई निरन्तरता दिन नपाउने भन्दै स्वेताले दुःखसमेत व्यक्त गरेकी छन्। उनी भन्छिन्, ‘अब म आफ्नो नयाँ चलचित्र हेल्लो जिन्दगीमा काम गर्न असक्षम छु ।’
उनी लेख्छिन्, ‘लन्डन जानुभन्दा अगाडि मेरो चिउँडो मुनिको भाग दुखेको थियो। डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो। डाक्टरले केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने बताउनुभयो। तर, लन्डनमा समस्या दोहोरियो।’ आफूलाई खप्नै नसक्ने गरी दुखेको र ज्वरो पनि आएपछि अस्पतालले चाँडो शल्यक्रिया गर्न सुझाब दिएको उनले बताएकी छन्। उनले डा. सुरेन्द्र कुमार दवासले आफ्नो सफल शल्यक्रिया गरेको जानकारी दिएकी छन्।