चर्चित एवं लोकप्रिय लोक दोहोरी गायक पशुपति शर्मा आफैमा चर्चित गायक हुन । तर उनी केही समय अगाडी “लुट्न सके लुट कान्छा” गीतको कारण चर्चा र आलोचना दुबैमा आए । यही गीतको कारण उनी तत्कालिन एमाले र सत्तारुढ दलका नेता तथा कार्यकर्ताको निसानामा परे । उनलाई बहिष्कार नै गर्ने धम्की दिएपछि उनले उक्त गीत युट्युवबाटै हटाए तर पनि उनको गीत छ्याप्छ्याप्ती भयो । उनले गीतमार्फत राष्ट्रपति , प्रधानमन्त्री लगायत कार्यकर्ताहरुमाथि कडा प्रहार गरिएकै कारण पशुपति सरकारी सम्मानबाट बञ्चित भएका छन् ।

गृह मन्त्रालयले २०७५ साल असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का दिन विभिन्न क्षेत्रमा रहेर योगदान दिएका हस्तीहरुलाई विभूषित गर्ने घोषणा गरेको थियो । जसमा पशुपति शर्माको नाम पनि थियो । उनलाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट सम्मानित गरिने भन्दै घोषणा नै गरिएको थियो । तर आइतबार भएको उक्त सम्मान कार्यक्रममा पशुपति शर्मालाई निमन्त्रणा गरिएन । खबर नपाएकै कारणले उनी सम्मान कार्यक्रममा पुगेनन् । यता पशुपति सम्मान कार्यक्रममा नपुगेपछि कतै उनले सम्मान बहिष्कार गरेका त होईनन् भन्ने चर्चा पनि भयो तर पशुपतिले आफुलाई जानकारी नै नभएको र सम्मान बहिष्कार पनि नगरेको बताएका छन् ।

मानपदवी पाउने सम्बन्धित व्यक्तिलाई गृह मन्त्रालयले फोन गरेर राष्ट्रपति कार्यालयमा जाने चिठ्ठी लिन मन्त्रालय आउनका लागि बोलाउने गरेको छ । तर पशुपतिलाई यस बारेमा कुनै जानकारी दिईएन । जबकी अन्य सम्मानित हुने व्यक्तिहरुलाई गृहले २६ गते फोन गरेर राष्ट्रपति कार्यालय सितल निवास प्रवेशका लागि तयार भएको चिठ्ठी लिन आउनका लागि खबर गरेको थियो ।
