२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

लगानी सम्मेलनमा प्रचण्डले भने– “नेपालमा लगानी गर्न शान्ति र स्थिरता छ”

1383 Shares
Spread the love

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि शान्ति र स्थिरता रहेको बताएका छन् । काठमाडौंमा भएको लगानी सम्मेलनको अन्तिम दिन मुख्यअतिथि रहेका उनले विभिन्न देशबाट आएका प्रतिनिधीलाई नेपाल व्यापार र लगानीका लागि उच्च सम्भावना भएको देश रहेको बताउँदै लगानीको वातावरण बनाउने विश्वास दिलाए ।

उनले लगानी सम्मेलनमा भएको सम्झौताबाट लगानीकर्ता र नेपाललाई फाइदा पुग्ने बताउँदै आपसी सहकार्यबाट यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले १२ बर्ष अघिदेखि नेपालमा सुरु भएको शान्तिप्रक्रिया विश्वका लागि ऐतिहासिक उदाहरण भएको बताउँदै अहिले राजनीतिक स्थिरता रहेको बताए । उनले नेपाल आर्थिक विकासको युगमा प्रवेश गरेको बताउँदै लगानीका लागि ‘भर्जिनल्याण्ड’ रहेको उल्लेख गरे ।

उनले भने– ‘नेपाल सुन्दर, विकासशील र लगानीका लागि भर्जिन देशको रुपमा रहेको छ । ८ हजार ८ सय ४८ मिटर विश्वको अग्लो र विश्वको सबैभन्दा होचो क्षेत्र पनि यही छ । उच्च हिमाली क्षेत्रबाट १ सय भन्दा बढी नदी बग्छन जहाँ हाइड्रोपावरको उच्च सम्भावना रहेको छ ।’

उनले नेपाल दक्षिण एसियामै पर्यटनको क्षेत्रमा उत्कृष्ट रहेको बताउँदै पर्यटन क्षेत्रको विविधिकरण, पूर्वाधार बनिरहेको तर अझैँ विकास हुन बाँकी रहेकोले यो पनि लगानीको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको बताए । नेपालमा सिमापार रेल निर्माण, सिमापार विद्युत लाइन विस्तार, औद्योगिक क्षेत्रको विकासको क्रममा रहेकोले नेपालको सरकारी निजी क्षेत्रले यसमा काम गरिरहेको बताउँदै अन्र्तराष्टिय समुदायलाई पनि यी क्षेत्रमा लगानीको ढोका खुला रहेको बताए ।

उनले विदेशी लगानीकर्तालाई पर्ने समस्या, चुनौतीबारे छलफल गर्न खुला रहेको पनि बताए । नेपालको सामाजिक आर्थिक विकास गर्न र फाइदा प्राप्त गर्न लगानीकर्ताहरु सक्रिय रहने अपेक्षा उनले व्यक्त गरे । २ दिनसम्म काठमाडौंमा चलेको लगानी सम्मेलनको आज समापन भएको छ । सम्मेलनमा १४ देशका १३ सय लगानीकर्ताको सहभागिता रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

प्रतिक्रिया