काठमाडौँ । इंगल्याण्ड विश्वकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक निर्धारित समयमा एक–एकको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
जसमा इंगल्याण्ड भाग्यशाली सावित भयो । इंगल्याण्डले टाइब्रेकरमा ४–३ को जित निकालेको हो। यस पेनाल्टि सुटआउट निकैनै प्रतिस्पर्धात्मक भएको थियो।
गएरातिको जितसँगै इंगल्याण्ड क्वाटर फाइनल प्रवेश गरेको छभने कोलम्बियाको विश्वकप सपना अधुरो बनेको छ। यस खेलमा कोलम्बियाका स्टार खेलाडी हामेस रोड्रिग्वेज घाइते भएका कारण समावेश भएका थिएनन् ।
इंगल्याण्ड र कोलम्बियाबीच भएको पेनाल्टी सुटआउट निकैनै रोमान्चक बनेको थियो। इंगल्याण्डको जितमा कप्तान ह्यारी केन, मार्कुस रासफोर्ड, केरन ट्रिपर र इरिक डिएरले गोलगर्दा जोर्डन हेन्डर्सन गोल गर्न चुके ।
कोलम्बियाका लागिभने दुई खेलाडीले गोल गर्न सकेनन्। राडामेल फाल्काओ, जुआन कुवाडराडो र लुइस मुरिएलले गोलगर्दा माट्युस उरिब र कार्लोस बाक्का गोल गर्न चुके।
खेलमा पहिले कोलम्बियाका राडामेल फाल्काओले र इंगल्याण्डका ह्यारी केनले लगातार एक–एकको बराबरी गोल गरे। दोस्रोमा कोलम्बियन खेलाडी अुआन कुवाडराडोले गोलगर्दा इंगल्याण्डका मार्कुस रासफोर्डले पनि गोल गरे।
तर तेस्रो पेनाल्टिमा कोलम्बियन खेलाडी लुइस मुरिएलले गोलगर्दा इंगल्याण्डका जोर्डन हेन्डर्सन गोल गर्न चुके। ३–३ पेनाल्टिसम्म कोलम्बिया ३–२ ले अघि रहेको थियो।
तर चौथौ प्रहारमा कोलम्बियन खेलाडी माट्युस उरिब गोलगर्न चुक्दा इंगल्याण्डका केरन ट्रिपरले गोलगर्दै खेललाई ३–३ को बराबरीमा पुर्याए। त्यसपछि पाँचौ पेनाल्टि प्रहार निर्णायक बन्न पुग्यो।
पाँचौ प्रहारमा कोलम्बियाली खेलाडी कार्लोस बाक्का गोलगर्न चुकेपछि इंगल्याण्डको लागि पाँचौ प्रहार निर्णायक मानिएको थियो जसमा इरिक डिएर निर्णायक गोल गर्न सफल भए।