काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक रहेकोले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य भएको बताए । तर यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो भने नभएको स्पष्ट पारे ।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता महतले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको स्मरण गरे । उनले गिरिजाबाबुले विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गरेको र उदार आर्थिक नीति अगाडि सारेको बताए । उनले भने ‘बास्तवमा गिरिजाबाबुले आधुनिक नेपालका लागि ठूलो काम गर्नुभएको छ।’
साक्षात्कारमा उनले वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेकोमा खुशी व्यक्त गरे । उनले अगाडि भने,‘यो त खुशीको कुरा हो, सम्मेलन सफल होस भन्ने हाम्रो शुभकामना छ, यो अति आवश्यक थियो । विदेशी लगानी नबढाई मुलुक विकास हुन सक्दैन् ।’
विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने उनको सुझाव थियो । उनले अहिले केही नयाँ कानुनहरु पारित भएका तर विदेशी लगानीको लागि ‘नेगेटिभ लिष्ट’ पहिलेभन्दा लामो बनाईएको गुनासो गरे । महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको बताए ।