काठमाडाैँ। मुलुकभर मनसुन सक्रिय भएको छ। भारी वर्षाका कारण मुलुकका धेरै भाग डुबानमा परेका छन्। नेपालगञ्ज, वीरगञ्जलगायतका तराईका भूभाग डुवानमा परेका छन्। जल तथा माैशम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले बाढी अाउन सक्ने सम्भावना रहेकाे जनाएकाे छ।
महाशाखाले साेमबार विज्ञप्ति जारी गर्दै तीन दिनसम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाे जनाएकाे छ। मनसुन पूर्ण रुपमा सक्रिय भएकाले अझै केही दिन वर्षा हुने बताइएको छ।
तीन दिनसम्म लगातार वर्षा भए पनि दिउँसो पख केही बेर वर्षा रोकिने र विशेष गरी साँझ, राति र बिहान वढी वर्षा हुने महाशाखाले जारी विज्ञप्तिमा उल्लेख छ। पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहन मौसमविद्हरुले आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभाग, विज्ञान महाशाखा/बाढी पूर्वानुमान शाखाले पनि बाढी बुलेटिन जारी गरी देशका अधिकांश भेगमा वर्षा र पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
दुई दिनदेखि लगातार परेको वर्षाको पानी निकासी हुन नसक्दा वीरगञ्जको श्रीपुर सडकमा जलमग्न पानीमा हिँड्दै स्थानीयवासी। रासस
विभागका अनुसार सबै प्रमुख नदीमा जलसतह बढ्दो क्रममा रहेको छ। सोमबार पनि देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा पश्चिम, मध्य र पूर्वी भागको मध्यपहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
राससका अनुसार अविरल वर्षाले बाँकेकाे वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन्। नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए।
यसैगरी भारी वर्षासँगै आएको पहिरोले सिदार्थ राजमार्ग, मुग्लीङ नारगणड सडकखण्ड भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ।
राससका अनुसार लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ। वर्षाका कारण जिल्ला मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलमग्न भएको छ।
रातिदेखि भइरहेको अविरल वर्षाका कारण आर्थिक राजधानी वीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन्। वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन्।
पश्चिमको नेपालगञ्ज पनि वर्षाका कारण डुबानमा परेको छ। नेपागञ्जमा अवस्थित न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न बनेका छन् ।नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ।