
एजेन्सी। फिफा विश्वकपका ३ स्टार खेलाडी लियोनेल मेस्सी, क्रिष्टियानो रोनाल्डो र नेयमार रेडकार्डको खतरामा छन् । यी तीनैजना खेलाडीले समूह चरणका खेलमा एक–एक पहेंलो कार्ड पाइसकेका छन् । यो पहेंलो कार्ड राउण्ड अफ १६ सम्म प्रभावी रहनेछ । यी खेलाडीले राउण्ड अफ १६ को आगामी खेलमा अर्को पहेंलो कार्ड पाएमा उनीहरुले क्वाटर फाइनल गुमाउनुपर्नेछ । राउण्ड अफ १६ को खेल जितेर उनीहरुको टिम क्वाटर फाइनल पुगेमा पनि उनीहरु पहेंलो कार्ड पाएमा क्वाटरफाइनल खेल्न पाउने छैनन् ।
क्वाटरफाइनल पुग्न सकेमा क्वाटरफाइनलमा अर्को रोचक प्रतिस्पर्धा हुने तय छ । राउण्ड अफ १६ को खेल जितेमा क्वाटरफाइनलमा अहिलेको समयमा फुटबलका सबैभन्दा ठूला स्टार मेस्सी र रोनाल्डो भिड्नेछन् । राउण्ड अफ १६ मा भोलि अर्जेन्टिनाले फ्रान्सको र पोर्चुगलले उरुग्वेको सामना गर्नेछन् । यी खेलमा क्रमशः अर्जेन्टिना र पोर्चुगलले जितेमा यी दुई टिम एक सातापछि आगामी शुक्रबार क्वाटरफाइनलमा भिड्नेछन् ।