२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिकामा, यस्तो छ कार्यक्रम

2988 Shares
Spread the love

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी सोमवार विहान अमेरिका आइपुगेकी छिन ।

राष्ट्रपति भण्डारीलाई न्युयोर्क स्थित जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल जेएफकेमा अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्की, स‌युक्त राष्ट्र सघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीलाई म्यानहाटन स्थित हायत होटलमा बसोबासको व्यवस्था मिलाएको छ ।

राष्ट्र सङ्घको प्रधान कार्यालयमा सोमवार देखि शुरु भई आगामी चैत ८ गतेसम्म आयोजना हुने उक्त अधिवेशनका क्रममा राष्ट्रपति भण्डारीले म‌गलवार हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा पनि राष्ट्रपतिले मन्तव्य दिने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी आज साँझ राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले नारी राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत एवं सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । यस्तै उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्र सङ्घको सचिवालयमा महासचिव एण्टोनियो गुटेरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले इस्टोनियाका राष्ट्रपति केस्र्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । यस्तै भण्डारी सँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपतिले बुधवार गते राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा तथा राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी छन ।

प्रतिक्रिया