भारत पाकिस्तानको लडाईले बलिउड र पाकिस्तानी कलाकारहरुमाझ पनि चर्काे बिवाद हुँदै आईरहेका छन् । सामाजिक सञ्जालमा बलिउड र पाकिस्तानी कलाकारहरुबीच घमासन युद्ध नै भईरहेको छ । स्वभाविक हो सबैलाई आफनो देश प्यारो नै हुन्छ चाहे त्यो जस्तो सुकै किन नहोस । पुलवा आक्रमणपछि भारतीय नागरिकहरुको पाकिस्तानप्रति रवैया निकै आक्रामक बनिरहेको छ । त्यसैले भारतले पाकिस्तानमा आक्रमण गर्दा भारतीयहरु निकै दंग छन् । सरकारमाथि जनताबाट पनि पुलवा हमलाको बदला लिन दबाब थियो । त्यसैले पाकिस्तानमा भारतले हवाई आक्रमण गर्दा भारतीयहरु रमाए । सोही प्रसंगलाई हेर्दे पाकिस्तानी नायिका माहिरा खानले युद्ध हुँदा भारतीयहरु रमाएको भन्दै ट्वीट गरिन् ।

उनले लेखिन् “अशिष्ट केही छैन युद्धको खुसीमा रमाउनु मुर्खता भन्दा केही होईन । दिमाग लगाएर सोच । पाकिस्तान जिन्दावाद” । उनले यस्तो लेख्दा भारतीय टिभी अभिनेत्री देवोलीना भट्टाचार्जीलाई सह्य भएन । ‘साथ निभाना साथीया’ जस्तो चर्चित सिरियलमा काम गरिसकेकी उनले माहिराको ट्वीटमा प्रतिक्रिया दिँदै लेखिन् “अशिष्ट त्यतीबेला हुन्छ जब यसलाई कसैले महसुस गर्छ र आंतकबिरुद्ध भएको युद्धको आलोचना गर्छ । नराम्रो नमान्नु होला देश प्रेमले हामीलाई अन्धो बनाउछ आंतकवादले होईन”।

माहिराले बलिउडमा सारुख खानसंग रईस फिल्ममार्फत डेब्यु गरेका थिए । त्यसोत बलिउडमा पाकिस्तानी कलाकारहरुमाथि पनि प्रतिबन्ध जस्तै लागिसकेको छ । बन्न लागेका र बन्ने तयारीमा रहेका अधिकांश फिल्मबाट पाकिस्तानी कलाकार र गायकहरुलाई हटाईएको छ । यस्तै बिवादकाबीच बलिउडमा हट एण्ड बोल्ड अवतारमा देखिँदै चर्चा र बिरोध दुबैमा आएकी पाकिस्तानी नायिका विना मलिकमाथि अर्की बलिउड नायिका स्वरा भास्कर पनि खनिएकीछिन् । पाकिस्तानले खसालेको भारतीय लडाकु विमानका चालक अभिनन्दनलाई नियन्त्रणमा लिएपछि भारतले बिना हानी रिहा गर्न माग गरेको थियो । सोही प्रसंगलाई उनले ट्वीटरमा पाईलट अभिनन्दनको तस्बिर पोस्ट गर्दे लेखिन् “भर्खर भर्खर त आएका छौ पाहुनाझै राम्रो स्वागत हुनेछ तिम्रो “।
उनको यस्तो ट्वीटपछि स्वाराले उनलाई प्रतिक्रिया दिँदै लेख्छिन् “विनाजी धिक्कार छ तिमीलाई र तिम्रो बिरामी मानसिकतालाई । तिम्रो खुसी एकदम निर्लज्ज छ । हाम्रो हिरो बहादुर , शालीन र अरुको नियन्त्रणमा पनि सम्मानित छ” । त्यतीमात्र होईन विनाले यसअघि पनि भारतबिरुद्ध ट्वीट गर्दे लेखेकी थिईन “हामी तिमीलाई सप्राईज दिन्छौ” । यता बलिउडकी अर्की चर्चित नायिका प्रियंका चोपडाले पनि भारतीय वायुसेनाको सम्मानमा ट्वीट गरेकी थिईन जहाँ उनले जय हिन्द लेखेकी थिईन। उनको यस्तो लेखाईबाट असन्तुष्ट पाकिस्तानी नायिका अरमीना खानले आपत्ति जनाईन् ।

उनले लेखिन् “के तिमी युनिसेफको गुडविल ब्राण्ड एम्बेस्डर होईन ? सबै जनाले यो ट्वीटको स्क्रिन सट्स लेउ अनि जब प्रियंकाले शान्ती र सद्भावको बारेमा बोल्छिन् तब प्रियंकालाई उनको बनावटी छबिको बारेमा स्मरण गराउनेछौँ” । उता अर्की पाकिस्तानी नायिका सनम सईदले प्रियंकाको ट्वीटको बदलामा लेखेकीछिन् “निर्दाेष व्यक्तिको हत्याको लाज ढाक्नको लागि कुनै पनि झण्डा त्यती ठुलो हुँदैन” । उता पाकिस्तानी नागरिकता त्यागी भारतीय बनेका गायक अदनान सामीले समेत भारतको गुनगान गाउँदै पाकिस्तानको बिरोध गरेपछि बलिउड फिल्ममा काम गरिसकेका इमरान अब्बासले पनि चर्काे आलोचना गरेका छन् ।
